काठमाडौं । आगामी कात्तिक १५ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका विवादास्पद व्यवसायी दुर्गा प्रसाईं अहिले तत्कालका लागि आन्दोलन रोक्दै वार्ताको बाटो रोज्ने तयारीमा छन्।
आईतबार उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालय—काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तथा सुरक्षा निकायका प्रतिनिधिहरूसँग प्रसाईंको विस्तृत छलफल भएको छ। छलफल भक्तपुरका सीडीओ नमराज घिमिरेको पहलमा आयोजना गरिएको थियो।
छलफलमा प्रसाईंले ‘हाल कुनै आन्दोलन सुरु नहुने’ स्पष्ट गर्दै सरकारसँग वार्ताको लागि आफु तयार रहेको बताएका हुन्।
ललितपुरका सीडीओ सुमन घिमिरेका अनुसार, प्रसाईंलाई आन्दोलनको आधिकारिकता र तयारीबारे सोधिएको थियो। उनले भने, “कात्तिक १५ बाट आन्दोलन सुरु गर्ने घोषणा भए पनि अहिले त्यो कार्यक्रम नहुने स्पष्ट गर्नुभएको छ।”
भक्तपुरका सीडीओ घिमिरेले पनि प्रसाईंले राजनीतिक र भावनात्मक विषयहरू उठाए पनि प्रशासन र सुरक्षा निकायले त्यसबारे टिप्पणी नगरी वार्ता र संवादकै बाटो सुझाएको बताए।
उनका अनुसार प्रसाईंले अहिले शान्त वातावरणमा वार्ता गर्न चाहेको र मंसिरपछि पनि माग पूरा नभए आन्दोलन गर्ने योजना दोहोर्याएका छन्।
छलफलमा प्रसाईंले प्रधानमन्त्री र गृहमन्त्रीलाई पत्र पनि पठाएका छन्। उक्त पत्रमा आफ्ना मागबारे औपचारिक रुपमा ज्ञापनपत्र बुझाउन समय मिलाइदिन अनुरोध गरिएको ललितपुरका सीडीओ घिमिरेले जानकारी दिए।
काठमाडौंका सीडीओ ईश्वरराज पौडेलले सो पत्र गृहमन्त्री ओमप्रकाश अर्याललाई बुझाइसकेका छन्। उनका अनुसार, प्रसाईंले हाल कुनै आन्दोलन कार्यक्रम नरहेको र तत्कालका लागि तयारी स्थगित गरिएको बताएका छन्।
सरकारका तर्फबाट पनि हालका परिस्थितिलाई ध्यानमा राख्दै कुनै पनि प्रकारका आन्दोलन गर्न नदिने नीति अपनाइएकाे काठमाडौंका सीडीओ पौडेलले जानकारी दिए। उनका अनुसार, प्रसाईं समूहका गतिविधि निगरानीमा राख्दै आगामी वार्ताका लागि तयारी थालिएको छ।
प्रकाशित मिति: आइतबार, कात्तिक १०, २०८२