काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने भएका छन् । खड्कालाई कार्यवाहक दिने समझदारी भएको स्रोतले आजको न्यूजलाई बताएको छ । पूर्णबहादुर खड्कालाई कार्यवाहक दिने सहमति २७ असोज राति भएको थियो । सभापतिले खड्कालाई कार्यवाहक दिने विषयको निर्णय आजैबाट सुरु हुने नेपाली कांग्रेसको केन्द्रीय समितिले पारित गर्नेछ । साथै पार्टीको कमाण्ड उपसभापति खड्काको काँधमा सुम्पिएर सभापति देउवा थप उपचारका लागि सिङ्गापुर प्रस्थान गर्न लागेको पनि त्यो स्रोतले आजको न्यूजलाई बताएको छ ।
जेनजी पुस्ताले गरेको आन्दोलनपछि अराजक भीडले सभापति देउवा दम्पतीमाथि कुटपिट गर्नुका साथै उनीहरूको बूढानीलकण्ठस्थित घर समेत जलाएर ध्वस्त गरेको थियो । हाल ललितपुरस्थित एक भाडाको घरमा बस्दै आएका देउवा आजसम्म सार्वजनिक भएका छैनन् । लामो समय उपचारपछि स्वास्थ्यलाभ लिइरहेका देउवाले पार्टी कमाण्ड खड्कालाई दिएर आफ्नो र पत्नीको थप उपचारका लागि सिङ्गापुर जाने निर्णय लिन लागेका हुन् ।

तत्कालीन एमाले र कांग्रेसको सहमति बमोजिम ओलीपछि प्रधानमन्त्री हुने पालो शेरबहादुर देउवाको रहेको थियो । नयाँ परिस्थिति पछि संसद् विघटन गरी गैरसंवैधानिक बाटोबाट सर्वोच्च अदालतकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भई फागुन २१ मा निर्वाचन गर्ने घोषणा भएको छ । यद्यपि संसद् विघटन र अन्तरिम सरकार गठन विरुद्ध सर्वोच्च अदालतमा आजै थुप्रै रिट परिसकेका छन् । आजैबाट रिट लिन सुरु गरेको सर्वोच्चमा संसद् पुनर्स्थापना र वर्तमान सरकार विरुद्ध थुप्रै रिट परेका छन् ।
यदि सर्वोच्चमा परेको रिट बमोजिम संसद् पुनर्स्थापना भइहाले संविधान बमोजिम देउवानै प्रधानमन्त्री हुने संवैधानिक प्रावधान रहेको छ । यस्तो विषम परिस्थितिमा हुने देउवाको सिङ्गापुर बसाइँ उपचारमा मात्रै सीमित नभई राजनीतिक परामर्शमा पनि केन्द्रित हुने विश्लेषकहरूको बुझाइ रहेको छ । नेपालको सत्ता परिवर्तनमा आन्तरिकसँगै बाह्य कारणहरू समेत हावी भइरहेका चर्चाबीच देउवा उपचारको कारणसहित सिङ्गापुर जान लागेका छन् । देउवा दम्पती उपचारका लागि सिङ्गापुर जाने तय भए पनि मिति भने गोप्य रहेको स्रोतले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, असोज २८, २०८२