पूर्वाधार विकासका दृष्टिकोणले भलै नेपालको गति सुस्त होला तर सूचना प्रविधिको पहुँचमा भने हामी पनि तीव्रतर अगाडि बढिरहेका छौँ । बस्ने बास र खाने गाँसको ग्यारेन्टी नभएका कैयौँ नेपालीको हातमा पनि स्मार्ट फोन देखिन्छ । इन्टरनेटको पहुँच विस्तारसँगै आज कर्णालीको कुनै गाउँबाट भिडियोमार्फत् संसारका कुनै पनि कुनामा पुगेका आफन्तसँग सजिलै संवाद भइरहेको छ । सूचना प्रविधिको तीव्र विकासले पृथ्वीको कुनै पनि गोलार्द्धमा भएको घटनाबारे हामी तुरुन्तै जानकारी पाउँछौँ । शिक्षा र कामको खोजीमा टाढिएका आफन्तलाई समेत प्रविधिले नजिक बनाइदिएको छ । जतिजति सूचना प्रविधिको पहुँच विस्तार भइरहेको छ, त्यति नै हर कुनै ठाउँमा रहेका नेपालीलाई मातृभूमिसँग जोडिन सजिलो बनाइदिएको छ । संचारको यही सुगमताले होला, विश्व एउटा ग्राममा परिणत भयो भनेर भनिएको ।
प्रविधिले जसरी जीवन पद्धतिलाई डोहोर्ययाइरहेको छ, ठीक त्यसैगरी सूचना लिने पद्धतिलाई समेत नयाँ ढंगले परिभाषित गरिदिएको छ । आज टेलिभिजनमा प्रसारण भएको सामग्री होस् या पत्रपत्रिकामा प्रकाशित सामग्री, मानिसहरूले आफ्नो अनुकूलतामा इन्टरनेटमार्फत् हेर्ने र पढ्ने चलनको विकास भइसकेको छ । त्यसरी एउटै सूचना सामग्रीका लागि दोहोरो समय र जनशक्ति लगाउनुका सट्टा उत्पादन गरिएका सामग्री सिधै इन्टरनेट संस्करणमा प्रकाशन, प्रसारण किन नगर्ने ? यही प्रश्नको सहज उत्तर पाएर होला, हाम्रो देशमा पनि डिजिटल मिडियाको तीव्र विकास भइरहेको छ । संख्यात्मक दृष्टिकोणले डिजिटल मिडियामा भएको तीव्रतर विकाससँगै यसले आमपाठक र दर्शकहरूलाई दिग्भ्रमित गरिरहेको छ भन्ने आरोप पनि यसले खेपिरहेको छ । पहुँचको हिसाबले सहज र समयका सन्दर्भले छिटो माध्यम भए पनि डिजिटल मिडिया पनि आमसंचारको भरपर्दो साधन हुनसक्छ भनेर विश्वास दिलाउनुपर्ने आवश्यकता आज पनि उत्तिकै छ । यो कालखण्डले डिजिटल मिडियाको अझै माग गरिरहेको छ ताकि समयक्रमसँगै विश्वसनीय समाचार र सन्तुलित विचार प्रवाह गर्ने संचार माध्यम आमपाठक र दर्शकको छनोट हुने निश्चित छ । संख्यात्मक हिसाबले जसरी उत्साहपूर्ण उपस्थिति यस मिडियाले बढाइरहेको छ, त्यसरी नै विश्वसनीय बनाउने दायित्व पनि यो अभ्यासमा रहेका हामी सबैको हुनेछ ।
हुनत नयाँ मिडियाको आगमनले परम्परागत मिडियाको अस्तित्व समाप्त कदापि गर्दैन किनकि हरमाध्यमको आफ्नै महत्त्व छ– फरक यति हो, प्रत्येक समयसँग आफूलाई परिष्कृत गराउने दायित्वचाहिँ उनीहरूको हुन्छ । तर यतिचाहिँ हामी भन्न सक्छौँ– नेपालमा डिजिटल मिडियाको युग भने आरम्भ भएकै हो । एकपछि अर्को नयाँ डिजिटल मिडिया संचालनमा आइरहेका बेला यसको कान्छो सदस्यका रूपमा ‘आजको न्युज’को आगमन भएको छ । हामी आगमनकै बेला प्रिय पाठक र दर्शकहरूलाई प्रतिबद्धताका अनेकौँ पोका पस्किरहेका छैनौँ । तर जति प्रतिबद्धता व्यक्त गर्नेछौँ, त्यस बाटोमा इमान्दार भएर हिँड्ने प्रयत्न भने पक्कै गर्नेछौँ । हामी विश्वसनीय पत्रकारिताको अभ्यास गर्नेछौँ । यसका लागि हामीसँग काममा विश्वास गर्ने उत्कृष्ट टिम छ अनि प्रिय पाठक तथा दर्शकहरूको निरन्तरको खबरदारी पनि । आमसंचारको माध्यम हुनुका नाताले हामी सबैका हौँ तर कसैका पनि होइनौँ । किनकि हामी सत्य र निष्ठाको पक्षमा निरन्तर हुनेछौँ । त्यसो हुँदा कहिलेकाहीँ कसैको पनि नहुनुपर्ने हुनसक्छ । उत्तरदायी लोकतन्त्र र जिम्मेवारीसहितको मानवअधिकारको पक्षमा भने हाम्रो कलम र आवाज निरन्तर डटिरहनेछ ।
आवजविहीनहरूको आवाज बन्ने त हामी निरन्तर कोसिस गर्ने नै छौँ । त्यससँगै हाम्रो आफ्नो राष्ट्रिय पहिचान र हाम्रा पुर्खाले सुम्पिएका गौरवपूर्ण संस्कार र संस्कृतिहरूको सम्मान गर्नुपर्ने कुराको पनि क्षमताले भ्याएसम्म पैरवी गरिरहनेछौँ । लहडको पछि होइन, सत्य र तथ्यको पछाडि लाग्ने कोसिस हाम्रो हुनेछ ताकि त्यस बाटोमा एक्लै नै किन नपरियोस् । बलजफ्ती र लहडै लहडका भरमा भन्दा पनि तथ्य र तर्कमा आधारित बनाएर हामीले हाम्रो यात्रा अगाडि बढाउने योजना बनाएका छौँ । हामी विभिन्न दृष्टिकोणलाई जनसमक्ष पुर्ययाउनेछौँ । यसो भन्दा मुलुक र जनताको हितमा हुने कुनै पनि विचार र धारणाहरूप्रति हामी सधैँ सकारात्मक हुनेछौँ । हामीलाई विश्वास छ- देशको चरित्र विचार विमर्शकै मन्थनबाट निर्माण हुन्छ । आरम्भकै बखत अनेकन प्रतिबद्धता प्रस्तुत गर्नुभन्दा पनि हामी आएका छौँ हाम्रो आगमनलाई अर्थपूर्ण बनाइदिने काम प्रिय पाठक र दर्शकहरूको हो । हामी यति अपेक्षा गर्छौं कि हाम्रा कमीकमजोरीहरू औँल्याइदिनुहोस् र बाटो बिराउँदा सजग गराइदिनुहोस्, बाँकी त यहाँहरूसँग निरन्तर साक्षात्कारकै क्रममा भेट हुनेछ ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५