काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन सत्ताधारी दल कांग्रेस र एमालेको दम्भ र अहंकारकै कारण मुलुकले अकल्पनीय क्षति बेहोर्नुपरेको आरोप लगाएका छन्।
जेनजी आन्दोलनको मागप्रति आफ्नाे पार्टीले आन्दोलनपूर्व नै समर्थन जनाइसकेको स्मरण गर्दै उनले भनेका छन्, “युवा पुस्ताको जायज मागलाई समयमा सम्बोधन गर्नुको सट्टा देखाइएको दम्भ र उदासिनताका कारण दर्जनौँ होनहार युवाले शाहदत दिनुपर्यो र मुलुकले अपूरणीय क्षति व्यहोर्नुपर्यो।”
उनले जारी गरेको विज्ञप्तिमा जेनजी आन्दोलनलाई लोकतान्त्रिक गणतन्त्रपछिको असफल शासन प्रणालीको परिणामको रूपमा स्वीकार गर्नुपर्ने उल्लेख छ। विज्ञप्तिमा भनिएको छ, “भ्रष्टाचार, कुशासन, बेरोजगारी, युवा पलायन र नेताहरूको जीवनशैली र जनजीवनबीचको ठूलो खाडल नै यस अवस्थाको मूल कारण हो।”
नेपालले युवा पुस्ताको आन्दोलनले उठाएका एजेन्डालाई सम्बोधन गर्दै देशलाई अगाडि बढाउने जिम्मेवारी अहिलेको अन्तरिम सरकारको भएको बताए। उनले भ्रष्टाचार अन्त्य, सुशासन कायम, रोजगारी सिर्जना र युवालाई मुलुकमै बस्न सक्ने वातावरण निर्माण गर्न सकेमा मात्रै जेनजी आन्दोलनमा ज्यान गुमाउने युवाप्रति साँचो श्रद्धाञ्जली हुने उल्लेख गरे।
यस्तै, उनले राजनीतिक दलहरू, नागरिक समाज, राज्य र निजी क्षेत्र सबैसँग सहकार्य गर्न समाजवादी पार्टी तयार रहेको स्पष्ट पारे।
प्रकाशित मिति: बुधबार, असोज १, २०८२