काठमाडौं । इजरायलमा हमासको आक्रमणपछि बेपत्ता भएका नेपाली युवक विपिन जोशी जीवित नरहेको जानकारी आएको छ । तर, उनका परिवारले अझै पनि आशा बाँकी रहेको बताएका छन् ।
इजरायली सेनाका अधिकारीहरूले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी इजरायलस्थित नेपाली राजदूतावास र परिवारका सदस्यहरूलाई दिएका हुन् ।
राजदूत धनप्रसाद पण्डितका अनुसार इजरायली सेनाका एक अधिकारीले भिडियो कन्फरेन्समार्फत यो जानकारी दिएका थिए । उक्त संवादमा राजदूत पण्डितसँगै अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका उनका दाजु किशोर जोशी र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारी पनि सहभागी थिए ।
तर, विपिनका दाजु किशोर जोशीले भाइको मृत्युबारे आधिकारिक प्रमाण नआएकाले अझै आशा मारेका छैनन् ।
‘युद्धविराम क्रममा आज पनि बन्धकहरू रिहा भइरहेका छन्,’ उनले कञ्चनपुरस्थित घरमा भने, ‘हमासले अझै केही बन्धकहरू छोड्न बाँकी छ । त्यसैले हामी निराश भएका छैनौं, भाइ फर्किन्छ भन्ने विश्वास हामीसँग अझै छ ।’
विपिन जीवित नरहेको भनिए पनि थप विवरण र प्रमाण इजरायली पक्षबाट प्राप्त हुन बाँकी छ ।
प्रकाशित मिति: सोमबार, असोज २७, २०८२