काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक, गलत र गैरकानूनी ठहर गर्दै यसको पुनर्स्थापनाका लागि जनआन्दोलनको तयारी गर्नुपर्ने बताएका छन्।
भक्तपुरको गुण्डुमा आयोजित एमालेको कार्यक्रममा बोल्दै उनले भने, “अब पर्खने बेला छैन, संसद् विघटन देश र जनताको हितविपरीत गरिएको छ। लोकतन्त्रको पुनर्बहालीका लागि संसद् पुनर्स्थापना अपरिहार्य छ।”
उनका अनुसार, फागुन २१ को मिति कुर्नुको कुनै औचित्य छैन। “कसैले भन्छन्, चुनाव नभएपछि पुनर्स्थापनाको कुरा गरौं। तर संसद् विघटन आफैंमा असंवैधानिक छ, त्यसको प्रतिवाद अहिले नै गर्नुपर्छ,” उनले चेतावनी दिए।
ओलीले प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा उत्रिने विश्वास पनि व्यक्त गरे। “अब हामी अगाडि बढ्ने बेला हो, नेपाली जनता आन्दोलनको आँधी–तुफान ल्याएर परिवर्तनको बाटो खोल्नेछन्,” उनले जोड दिए।
उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री बन्ने अडानका कारण संसद् विघटनसम्म पुगिएको प्रसंग पनि स्मरण गरे। “संविधान मिचेर संसद् भंग गर्ने अधिकार कसलाई र कहाँबाट प्राप्त भयो?” ओलीले प्रश्न गरे।
उनका अनुसार, संविधान र संसद् कायम राखेर सहमतिको बाटो खोज्ने प्रयासमा दलहरूबीच सहमति भएको थियो, तर त्यसलाई बेवास्ता गर्दै असंवैधानिक कदम चालियो।
“वार्ता सरकारको जिम्मेवारी हो, तर यहाँ उल्टो भएको छ—सरकार फालेर वार्ता अरूले गर्न खोज्छन्। यस्तो त दुनियाँकै अभ्यासमा पनि छैन,” ओलीले टिप्पणी गरे।
उनले कांग्रेस पनि संसद् पुनर्स्थापनाको एजेण्डामा साथ दिन तयार रहेको दाबी गरे।
प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२