काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियु (अखिल) ले काठमाडौं महानगरका प्रमुख बालेन्द्र साह (बालेन) र ‘हामी नेपाल हौं’ का संस्थापक सुदन गुरुङविरुद्ध देशव्यापी जाहेरी अभियान सुरु गर्ने भएको छ।
जेनजी आन्दोलनका क्रममा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएकाले दुवै विरुद्ध कानुनी कारबाही माग गर्दै अखिलले देशका सबै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गर्ने जनाएको हो।
‘अड्डा, अदालत, प्रहरी चौकीदेखि अन्य सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएका छन्,’ अखिलका महासचिव दीपक धामीले भने, ‘त्यसका जिम्मेवारहरूमाथि कारबाही होस् भनेर आजदेखि सबै जिल्लामा जाहेरी दिइरहेका छौं।’
उनका अनुसार केन्द्रको समन्वयमा प्रत्येक जिल्लामा क्रमशः जाहेरी दर्ता अभियान अघि बढाइनेछ।
यसअघि मंगलबार काठमाडौं जिल्ला प्रहरी परिसरमा अखिलले जाहेरी दर्ता गर्न खोजेको थियो। तर प्रहरी पक्षले सरकारी वकिलसँग छलफल गरेर मात्र निर्णय लिने बताउँदै २४ घण्टाभित्र जवाफ दिने जनाएको थियो।
प्रकाशित मिति: बुधबार, असोज २२, २०८२