काठमाडौं । जेनजी आन्दोलनसम्बन्धी तनावपछि काठमाडौं प्रहरी ‘हाई अलर्ट’मा गएको छ । सुरक्षा संवेदनशीलता बढेपछि उपत्यकाका सबै प्रहरी बिटका कर्मचारीहरूलाई फिर्ता बोलाइएको छ ।
‘हामी नेपाल’ संस्थाका संस्थापक सुधन गुरुङसहितको टोलीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दर्ता गर्न सोमबार साँझ भद्रकालीस्थित प्रहरी वृत्त पुगेको थियो । तर, जेनजी आन्दोलनको घटनाबारे छानबिन गर्न गठित आयोगले काम गरिरहेकाले जाहेरी दर्ता गर्न प्रहरीले अस्वीकार गरेको थियो ।
जाहेरी दर्ता नभएपछि ‘सडकबाटै देखाइदिन्छौं’ भन्दै गुरुङको टोली फर्किएसँगै प्रहरी प्रशासन सतर्क बनेको हो । त्यसलगत्तै काठमाडौं उपत्यका प्रहरी परिसरले ‘भिक्टर कन्ट्रोल’ कल साइनमार्फत साँझ साढे ७ बजे सबै बिट प्रहरीलाई रिजर्भ फोर्सका रूपमा वृत्तमा फिर्ता हुने आदेश जारी गरेको हो ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२