काठमाडौं । नेपाली कांग्रेसभित्र असन्तुष्ट इतर पक्षले विशेष महाधिवेशन माग्दै संकलन गरिएको हस्ताक्षर केन्द्रीय समिति बैठकअघि नै बुझाउने तयारी गरेको छ। सभापति शेरबहादुर देउवाले असोज २६ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएपछि इतर पक्षले त्यसअघि नै आफ्नो कदम चालेको हो।
जेनजी आन्दोलनपछि देउवाको नेतृत्वमा पार्टी अघि बढ्न नसक्ने निष्कर्षमा पुगेका असन्तुष्ट नेताहरूले हस्ताक्षर अभियानलाई तीव्र बनाएका छन्। यस अभियानको नेतृत्व महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, साथै नेता डा. शेखर कोइरालाले गरेका छन्।
हस्ताक्षर अभियानको समन्वय कोइराला निकट नेता गुरुराज घिमिरेले गरिरहेका छन्। असोज ६ गते कोइराला र थापानिकट १०९ जना महाधिवेशन प्रतिनिधिले संयुक्त वक्तव्य जारी गर्दै देशव्यापी रूपमा हस्ताक्षर संकलन अभियान प्रारम्भ गरेका थिए।
कांग्रेसको १४औं महाधिवेशनमा ४७४३ प्रतिनिधि रहेका थिए। विधान अनुसार, कम्तीमा ४० प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरेमा विशेष महाधिवेशन बोलाउन सकिन्छ। यही प्रावधानअनुसार इतर पक्षले अभियान चलाइरहेको छ।
संस्थापन पक्ष भने नियमित महाधिवेशनको पक्षमा अडानमा छ। केन्द्रीय समितिमा देउवाको स्पष्ट बहुमत भएकाले इतर पक्षले महाधिवेशन प्रतिनिधिमार्फत् हस्ताक्षर अभियानलाई प्राथमिकता दिएको हो।
महामन्त्री थापा निकट एक नेताका अनुसार, दसैंका कारण केही समय अभियान सुस्त भए पनि अहिले पुनः तीव्रता दिइँदैछ। उनका शब्दमा, “हस्ताक्षर संकलन अन्तिम चरणमा छ, केन्द्रीय समिति बैठकअघि नै बुझाउने तयारी छ।”
इतर पक्षका नेताहरूले आवश्यक ४० प्रतिशत हस्ताक्षर हासिल हुने दाबी गर्दै विशेष महाधिवेशन अब अवश्य हुने विश्वास व्यक्त गरेका छन्। देउवालाई हटाउने अभियानमा महामन्त्री थापा र नेता कोइरालाबीच पछिल्ला दिनमा सहकार्य र संवाद बढेको पनि बताइन्छ।
प्रकाशित मिति: सोमबार, असोज २०, २०८२