काठमाडौं । तीन दिनदेखिको अविरल वर्षाले मधेश प्रदेशका आठ जिल्लामा जनजीवन अस्तव्यस्त बनेको छ। बाराबाहेक सात जिल्लाका सयौँ बस्तीहरू डुबानमा परेका छन् भने हजारौँ घरपरिवार विस्थापित भएका छन्। रौतहटमा चट्याङ र डुबानका कारण चारजनाको मृत्यु भएको छ, दुई जना बेपत्ता छन्।
तीनवटै सुरक्षा निकाय—नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार र राहतमा समन्वय गर्दै काम गरिरहेका छन्। एआइजी उमाप्रसाद चतुर्वेदीका अनुसार समयमै उद्धार र राहत कार्य भएकोले मानवीय क्षति कम भएको छ।
महोत्तरीमा पाँच पालिका जलमग्न
महोत्तरीमा रातु नदीले बाँध भत्काउँदा पाँच पालिका—महोत्तरी गाउँपालिका, बलवा, जलेश्वर, मनरा सिसवा र एकडाँडा गाउँपालिका—का बस्तीहरू जलमग्न बनेका छन्। जलेश्वर कारागारमा समेत पानी पसेपछि कैदीबन्दीहरूलाई माथिल्लो तलामा सारिएको छ।
महोत्तरी प्रहरीका डीएसपी शैलेन्द्र भट्टका अनुसार २२ घरपरिवारका १२२ जनालाई सुरक्षित स्थानमा सारिएको छ।
सर्लाहीमा १,६१९ घर विस्थापित
सर्लाहीमा १,६१९ घरधुरी बाढी र डुबानमा परेर विस्थापित भएका छन्। चक्रघट्टा गाउँपालिका-१ पडरियामा २० वटा घर पूर्ण रूपमा क्षति पुगेका छन्। डुबानमा फसेका १९ जनाको उद्धार गरिएको छ।
हुलाकी सडकको कौडेना खण्डमा लखनदेही खोलाले १५० मिटर सडक बगाएको छ।
सप्तरीमा ८१६ जना विस्थापित
सप्तरीमा त्रियुगा नदी र अन्य साना खोला बग्दा १४२ घर डुबानमा परेका छन्। ८१६ जना विस्थापित भएका छन् र ८० जनालाई उद्धार गरिएको छ। प्रहरीका डीएसपी डम्बरबहादुर पुरीका अनुसार हालसम्म कुनै मानवीय क्षति भएको छैन।
पर्सामा दलित बस्तीबाट उद्धार
पर्साको वीरगञ्ज महानगरपालिका–११ मा डुबानमा परेका दलित बस्तीका ३६ जनालाई उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ। माइती नेपालको सेफहाउसबाट पनि ३ जनालाई अन्यत्र लगिएको छ।
रौतहटमा चारको मृत्यु, एक बेपत्ता
रौतहटमा सबैभन्दा बढी मानवीय क्षति भएको छ। ईशनाथ, कटहरिया र नवीनपुरका तीन जनाको चट्याङ लागेर मृत्यु भएको छ भने एक महिलाको टाउको नभएको शव फेला परेको छ। माधवनारायण नगरपालिका–८ की ७५ वर्षीया वृद्धा पन्मा देवी बागमतीमा बगेर मृत्यु भएकी छन्।
अन्य जिल्लामा पनि असर
धनुषा र सिराहाका केही गाउँहरूमा घरहरू डुबानमा परेका छन् भने बारामा सानातिना क्षति पुगेको प्रहरीले जनाएको छ। केही स्थानमा पोल ढल्दा विद्युत सेवा अवरुद्ध भएको छ।
उद्धार र राहतमा तीनवटै निकाय
सशस्त्र प्रहरीका एसएसपी अशोक बमका अनुसार मधेशका विभिन्न जिल्लामा हालसम्म १८० भन्दा बढी व्यक्तिहरूको उद्धार गरिएको छ। डुङ्गा र गोताखोर प्रहरी टोली तयारी अवस्थामा छन्।
“स्थानीय जनप्रतिनिधिहरूसँग समन्वय गर्दै राहत वितरणको काम भइरहेको छ,” उनले बताए।
प्रकाशित मिति: आइतबार, असोज १९, २०८२