काठमाडौं । नेकपा (एमाले) ले सुशीला कार्की नेतृत्वको सरकारले राजनीतिक प्रतिशोधको बाटो रोजेको ठहर गरेको छ। आइतबार बसेको सचिवालय बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित पाँच जनाको राहदानी रोक्का गर्ने निर्णयको कडा विरोध गरेको छ।
बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले पत्रकारलाई जानकारी दिँदै भने, “मुख्य राजनीतिक दलसँग संवाद, सम्पर्क र समन्वयको वातावरण छैन, बरु निषेध गर्ने प्रवृत्ति देखिएको छ, जसले हामीलाई चिन्तित बनाएको छ।”
उनका अनुसार जाँचबुझ आयोगमार्फत पासपोर्ट रोक्काको सिफारिस गरिनु र गृह मन्त्रालयमार्फत मिडिया ट्रायल गर्नु राजनीतिक प्रतिशोधको उदाहरण हो। “दसैंको बेलामा गरिएको यस्तो कदमले आयोगको विश्वसनीयता नै प्रश्नमा परेको छ,” उनले टिप्पणी गरे।
यस्तै, भदौ २३ र २४ मा भएका विध्वंसकारी घटनामा संलग्न व्यक्तिमाथि कारबाही अघि नबढाउन गृह मन्त्रालयले दिएको निर्देशनप्रति पनि एमालेले असन्तुष्टि जनाएको छ। पार्टीले यसलाई प्रहरीको कानुनी अधिकारमा हस्तक्षेप गर्दै निर्बाध कार्य वातावरण बिगारिएको आरोप लगाएको छ।
बैठकले असोज १९ गते फेरि सचिवालय बैठक बस्ने र समसामयिक विषयमा छलफल गर्न असोज २७ देखि २९ गतेसम्म केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ।
प्रकाशित मिति: आइतबार, असोज १२, २०८२