काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको पासपोर्ट रोक्का गर्ने तयारीलाई तीव्र आपत्ति जनाएका छन्।
शनिबार भक्तपुरको गुण्डुमा आयोजित चियापान कार्यक्रममा सम्बोधन गर्दै उनले सरकार अनावश्यक हल्ला र धम्कीमा लागेको आरोप लगाए। ओलीले भने, “अहिले म सुन्दैछु— पासपोर्ट रोक्ने कुरा भइरहेको छ। के सोचेको हो ? हामी हाहुको सरकारलाई देश जिम्मा लगाएर विदेश भाग्छौं र ?”
उनले मुलुक बनाउने जिम्मेवारी एमालेको रहेको भन्दै यस्ता धम्की र दवाबले आफूलाई नडराउने बताए। “हामी भाग्ने होइन, हामीलाई त यो देश बनाउनुपर्नेछ। फेरि पनि हामी नै देशलाई संवैधानिक र लोकतान्त्रिक मूलधारमा ल्याउनेछौं,” उनले ठोकुवा गरे।
पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले आफ्नो नेतृत्वकालमा संविधान कार्यान्वयन, स्थिरता र लोकतान्त्रिक अभ्यासलाई सबल बनाउन योगदान गरिएको स्मरण गरे। उनले वर्तमान सरकारलाई विपक्षीलाई दबाउने प्रवृत्तिमा लागिरहेको भन्दै जनतासमक्ष जवाफदेही बन्न चेतावनी दिए।
चियापान कार्यक्रममा सहभागी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै ओलीले निराश नहुन आग्रह गरे। उनले भने, “विपक्षमा हुँदा पनि हामी हार्दैनौं। हामीसँग विचार छ, लक्ष्य छ। देश बनाउन सक्ने शक्ति हामीसँगै छ।”
प्रकाशित मिति: शनिबार, असोज ११, २०८२