काठमाडौं । काठमाडौं उपत्यका मेयर्स फोरमले जेनजी आन्दोलनका नाममा भएका तोडफोड, आगजनी र लुटपाट घटनाको छानबिन गर्न सरकारलाई आग्रह गरेको छ।
शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा फोरमका अध्यक्ष तथा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले आन्दोलनमा घुसपैठ भएको भन्दै दोषीमाथि कठोर कारबाही गर्नुपर्ने माग गरे।
उनका अनुसार सिंहदरबार, संसद भवन, सर्वोच्च अदालतदेखि नगरपालिकाका भवनसम्ममा भएको तोडफोड र आगजनी घटनाहरू निन्दनीय छन्। "युवाहरूले उठाएका सुशासन र भ्रष्टाचार अन्त्यका मागप्रति हामी ऐक्यवद्ध छौं, तर आन्दोलनको आडमा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने कार्य अस्वीकार्य छ," महर्जनले भने।
काठमाडौं उपत्यका मेयर्स फोरममा १८ स्थानीय तह र ३ गाउँपालिका समावेश छन्। तर, बैठकमा काठमाडौं महानगरका मेयर बालेन शाह भने अनुपस्थित रहँदै आएका छन्।
फोरमले सिंहदरबार पुनर्निर्माणका लागि ५ करोड र उपत्यकाको सुरक्षा सुदृढीकरणका लागि प्रहरी कार्यालयलाई १ करोड सहयोग गर्ने घोषणा गरेको छ। साथै, तोडफोडमा परेका प्रहरी चौकी र नगरपालिकाहरूको सेवा प्रवाह सहज बनाउन आवश्यकता अनुसार थप सहयोग गर्ने तयारीसमेत गरेको छ।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२