काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेताहरूको सम्पत्ति छानबिन गर्न विशेष आयोग गठन गर्ने प्रस्ताव अघि सारेका छन्।
शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा जवाफ दिँदै उनले सम्पत्ति सार्वजनिक गर्नुपर्नेमा जोड दिँदै भने, “सम्पत्ति छानबिन आयोग बनाइनेछ, सबै नेताहरूको सम्पत्ति पारदर्शी ढंगले सार्वजनिक गरिनेछ।”
उनले पार्टी नेतृत्वदेखि कार्यकर्ता व्यवस्थापनसम्म नयाँ कार्यशैलीमा अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। संगठनात्मक गतिविधि, जीवनशैली र सांस्कृतिक रूपान्तरणलाई समेत नयाँ कार्यविधिबाट सञ्चालन गर्नुपर्ने प्रस्ताव उनले राखेका छन्।
त्यस्तै, प्रचण्डले नेताहरूले पालन गर्नुपर्ने आचारसंहिता र व्यवहारसम्बन्धी लिखित सुझाव दिन कार्यकर्तालाई आग्रह गरेका छन्। “नेतृत्व र पदाधिकारीले के गर्ने–नगर्ने, के खाने–के लाउने, कसरी प्रस्तुत हुने भन्ने विषयमा लिखित सुझाव आवश्यक छ,” उनले भने।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२