काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकलाई निरन्तर अस्थिरताबाट बाहिर निकाल्न राजनीतिक दल, नागरिक समाज र नयाँ पुस्ताबीचको सहकार्य अत्यावश्यक रहेको बताएकी छन्।
शुक्रबार राजधानीमा आयोजित जेन-जी आन्दोलनपछिको परिस्थितिबारेको अन्तरक्रिया कार्यक्रममा उनले देशको अस्थिरताले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय स्तरमा समेत चुनौती सिर्जना गर्ने खतरा रहेको उल्लेख गरिन्।
‘मुलुक सधैं यस्तो अवस्थामा रहिरहन सक्दैन, हामीले मिलेर यसको समाधान निकाल्नैपर्छ,’ भण्डारीले भनिन्, ‘शक्तिको मूल आधार जनता हुन्, जनताकै सुझाव र भावनासँग मेल खाने नीति र कार्यक्रम ल्याउनुपर्छ।’
उनले राजनीतिक दलहरूबीच छलफल र सहकार्य बढाउनुपर्ने आवश्यकता औंल्याउँदै भनेकी थिइन्, ‘विभिन्न आस्था र विचार राख्नेबीच संवादमार्फत मात्रै समस्याको समाधान सम्भव हुन्छ।’
मुलुकको अस्थिरताले मित्र राष्ट्रलाई समेत चिन्ता दिन सक्ने चेतावनी दिँदै भण्डारीले शान्ति, स्थायित्व र राष्ट्रिय एकतालाई मजबुत बनाउँदै मुलुकलाई युगअनुकूल बनाउनुपर्नेमा जोड दिइन्।
नेताहरूको कार्यशैलीप्रति कटाक्ष गर्दै उनले भनिन्, ‘बाहिर धेरै बोल्ने तर पार्टीभित्र केही गर्न नसक्ने अभ्यास सही होइन। जनताको आवाज सुनेर त्यसलाई कार्यान्वयन गर्न सक्नुपर्छ।’
भण्डारीले नयाँ पुस्ताको आकांक्षा पहिचान गरी सम्बोधन गर्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गर्दै सबै जिम्मेवार नागरिकलाई छलफल र साझा प्रयासमार्फत समाधान खोज्न आग्रह गरिन्।
प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२