काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रमलाई नेपालको इतिहासकै अत्यन्त संवेदनशील मोडको रुपमा चित्रण गर्दै लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्ने चलखेल भइरहेको चेतावनी दिएका छन् ।
उनले माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेको राजनीतिक तथा संगठनात्मक प्रतिवेदनमार्फत हालको सरकारलाई निरंकुश, भ्रष्ट र प्रतिशोधी मानसिकताले ग्रसित भएको आरोप लगाएका छन् । दाहालका अनुसार सरकारको दमन, सामाजिक सञ्जालमा प्रतिबन्ध र जनआवाजलाई दबाउने गतिविधिकै कारण जेन–जी आन्दोलन भड्किएको थियो ।
जेन–जी आन्दोलन र संकटको विस्तार
भदौ २३ गते शान्तिपूर्ण रुपमा सुरु भएको जेन–जी आन्दोलन २४ गतेसम्म आइपुग्दा हिंसा र नरसंहारमा परिणत भयो । राष्ट्रपति भवनदेखि सिंहदरबार, सर्वोच्च अदालत, व्यवस्थापिका संसद, बैंक तथा मिडिया हाउससम्म आक्रमण हुँदा मुलुकले अकल्पनीय क्षति बेहोर्नुपर्यो ।
दाहालको भनाइमा, आन्दोलनमा युवाहरुले उठाएका मागहरु औचित्यपूर्ण भए पनि त्यसलाई प्रतिक्रियावादी र प्रतिगामी शक्तिहरुले आफ्नो स्वार्थमा प्रयोग गरे । उनले आन्दोलनमा भएको तोडफोड र आगजनी योजनाबद्ध भएको दाबी गर्दै त्यसको जिम्मा जेन–जी पुस्तामाथि मात्रै थोपर्न नहुने तर्क गरे ।
लोकतन्त्रमाथि खतरा
दाहालले वर्तमान गैरदलीय सरकार बने पनि लोकतन्त्र र उपलब्धि सुरक्षित नभएको बताए । उनले संविधान खारेज गर्ने, अन्तरिम संविधान जारी गर्ने, लोकतान्त्रिक दलहरुलाई प्रतिबन्ध लगाउने र चुनावलाई आफ्नो स्वार्थअनुसार मोड्ने षड्यन्त्र अझै बाँकी रहेको उल्लेख गरे ।
“लोकतान्त्रिक दलका नेता तथा कार्यकर्ताहरुलाई भ्रष्टाचार छानबिनको नाममा जेल हाल्ने चलखेल भइरहेको छ,” प्रचण्डले भने, “यस्ता गतिविधिले लोकतन्त्रकै अस्तित्वलाई संकटमा पार्छ।”
आत्मसमीक्षा र नयाँ कार्यदिशा
दाहालले माओवादी केन्द्रकै कमजोरीलाई पनि स्वीकार गर्दै गम्भीर आत्मसमीक्षाको आवश्यकता औंल्याए । विचार र संगठनबीचको अन्तरविरोध, पार्टी संस्कृतिको कमजोरी तथा जनतासँगको दूरीकै कारण आन्दोलनमा प्रहार माओवादीमाथि नै भएको उनले विश्लेषण गरे ।
उनका अनुसार अब पार्टीले विचार, संगठन र संघर्षलाई नयाँ उचाइमा पुर्याउन युवापुस्ताको स्पीरिटलाई सम्मान गर्नुपर्छ । “हामी फरक धातुका माओवादी हौं, इतिहासले हामीलाई यथास्थितिमा बस्ने छुट दिएको छैन,” उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
विशेष महाधिवेशन र निर्वाचन तयारी
दाहालले पार्टीको केन्द्रीय समिति विघटन गरी विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने घोषणा गरेका छन् । विशेष महाधिवेशनमा पार्टीको नयाँ विचार, कार्यदिशा, संगठनात्मक संरचना र राजनीतिक रणनीति तय गरिनेछ ।
आगामी फागुन २१ मा तोकिएको आम निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पार्टी दृढ रहेको उनले स्पष्ट पारे । महाधिवेशन र निर्वाचन तयारीलाई सँगसँगै अघि बढाउने बताउँदै उनले युवापुस्ताको उल्लेख्य सहभागिता सुनिश्चित गर्ने नीति लिने घोषणा गरे ।
राष्ट्रिय एकता र सहकार्यको आवश्यकता
दाहालले राष्ट्रिय स्वाधीनता र लोकतन्त्र गम्भीर संकटमा परेकाले समाजवादी मोर्चासँग पार्टी एकता र ध्रुवीकरण अघि बढाउने प्रतिबद्धता जनाए । संविधान र लोकतन्त्र जोगाउन विचार मिल्ने सबै शक्तिसँग सहकार्य आवश्यक रहेको उनले बताए ।
पुनर्निर्माण र जनपरिचालन
जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएका पार्टी संरचना पुनर्निर्माणका लागि राष्ट्रिय अभियान सञ्चालन गर्ने, सार्वजनिक संरचना पुनर्निर्माणमा स्वयंसेवक परिचालन गर्ने तथा राहतका लागि कोष खडा गर्ने योजनासमेत दाहालले प्रस्ताव गरेका छन् ।
त्यसैगरी, आगामी दशैं, तिहार, नेपाल संवत, छठ लगायतका पर्वहरुलाई जनसम्पर्क विस्तारको अवसरका रुपमा प्रयोग गर्ने, किसानका समस्या समाधानमा जोड दिने र स्थानीयस्तरमा श्रमदानमार्फत जनतासँग प्रत्यक्ष जोडिने कार्ययोजना प्रस्तुत गरिएको छ ।
अन्तिम अडान
प्रतिवेदनको अन्त्यमा दाहालले भनेका छन्, “हामीले संविधान, लोकतन्त्र र क्रान्तिका उपलब्धि जोगाउन कुनै सम्झौता गर्न सक्दैनौं । चुनौती जे भए पनि माओवादी केन्द्र जनअपेक्षाअनुरुप रुपान्तरण हुँदै नयाँ भूमिका खेल्न तयार छ।”
प्रकाशित मिति: बिहीबार, असोज ९, २०८२