काठमाडौं । निर्वाचन आयोगले नयाँ मतदाताका लागि करिब डेढ महिनासम्म मतदाता नामावली संकलन गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ।आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालै जारी अध्यादेशले आयोगलाई मतदाता नामावली संकलनको अधिकतम मिति तोक्ने अधिकार दिएको छ। यसअघि निर्वाचन कार्यक्रम घोषणा भएपछि नयाँ मतदाता नामावली संकलन रोक्ने व्यवस्था थियो, तर नयाँ कानुनी व्यवस्था लागू भएपछि यो प्रतिबन्ध हटेको हो।
आयोग स्रोतका अनुसार करिब २१ कार्तिकसम्म नामावली संकलन खुला राख्ने प्रस्तावमा छलफल भइरहेको छ। सम्भवतः बिहीबारदेखि नै देशभरका जिल्ला निर्वाचन कार्यालय र बुथमार्फत नाम दर्ता सुरु गरिनेछ।
यो व्यवस्थाबाट १८ वर्ष पुगेका र नागरिकता प्रमाणपत्र प्राप्त गरेका नेपाली नागरिकले नामावलीमा आफ्नो नाम दर्ता गराउन सक्नेछन्। भीड बढेमा अतिरिक्त कर्मचारी परिचालन गरेर सेवा सहज बनाइने आयोगले जनाएको छ।
यसअघि आयोगले प्रतिनिधिसभा उपनिर्वाचनलाई लक्षित गरी १६ असार २०८२ देखि नामावली संकलन बन्द गरेको थियो। तर दुई वर्षपछि मात्र निर्वाचन हुने भएकाले त्यतिबेला नयाँ मतदाताले चासो नदेखाएका थिए।
राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेको अध्यादेश राजपत्रमा प्रकाशित भएपछि आयोगले औपचारिक सूचना निकाल्नेछ। आयोगले यसअघि जिल्ला प्रशासन कार्यालयमार्फत पनि नामावली संकलन गर्ने गरेको भए पनि कतिपय जिल्लामा कार्यालय जलेर अवरुद्ध भएकाले यसपटक निर्वाचन कार्यालयमार्फत मात्र काम अघि बढाइने देखिएको छ।
आयोगका तथ्यांकअनुसार गत असारसम्म देशभर १ करोड ८१ लाख मतदाता सूचीकृत भइसकेका छन्। साढे तीन वर्षअघि भएको प्रतिनिधिसभा निर्वाचनमा यो संख्या १ करोड ७७ लाख थियो। अब डेढ महिनाको संकलनपछि थप नयाँ मतदाता सूचीकृत हुने आयोगको अनुमान छ।
प्रकाशित मिति: बुधबार, असोज ८, २०८२