काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको लोकतन्त्र, गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा युवाको काँधमै भरिएको बताएका छन्। भक्तपुरको गुण्डुस्थित निवासमा भेट्न आएका युवा तथा विद्यार्थीलाई सम्बोधन गर्दै उनले नेपाल हाल बदनाम स्थितिमा पुगेको दाबी गरे।
उनका अनुसार, “विदेशमा नेपालीलाई भिसा नदिने, काम नदिने अवस्था बनिसकेको छ। देशलाई यस्तो बदनामीबाट मुक्त गर्न युवाले सक्रिय र सकारात्मक सोचसहित अघि बढ्नुपर्छ।”
सिंहदरबारमा भएको आगजनी घटनाबारे प्रष्ट पार्दै ओलीले मेयर बालेन शाहलाई लक्षित गर्दै भने, “देश र इतिहासलाई माया गर्नेले सिंहदरबार जलाउँदैन। यो योजनाबद्ध काम हो। जो पहिले देखि ‘सिंहदरबार जलाउँछु’ भनी धम्की दिँदै आएका थिए, त्यही तत्त्वको संलग्नता देखिन्छ।”
ओलीले कठिन परिस्थिति र बाह्य षड्यन्त्रबीच हरेस नखाई राष्ट्रिय हितमा अडिन युवालाई आह्वान गरे।
प्रकाशित मिति: मंगलबार, असोज ७, २०८२