काठमाडौं । गाजामा रहेका ४८ जना इजरायली बन्दीहरूको सामूहिक ‘बिदाइ तस्वीर’ सार्वजनिक गर्दै हमासको सशस्त्र शाखा कस्साम ब्रिगेड्सले शनिबार एउटा संकलित फोटो अनलाइनमा पोस्ट गरेको छ । सो तस्वीरमा नेपालका विपिन जोशीको पनि अनुहार देखिएको छ ।
अल जजिराका अनुसार, इजरायली सेनाले गाजाको सबैभन्दा ठूलो सहरलाई घेराबन्दी गर्दै स्थलगत र हवाई आक्रमण तीव्र बनाइरहेको बेला यो तस्वीर सार्वजनिक भएको हो ।
हमासले बन्दीहरूको अवस्थाबारे केही खुलाएको छैन । तर टाइम्स अफ इजरायलले यो तस्वीरलाई बन्दीका परिवार र इजरायली सरकारमाथि दबाब सिर्जना गर्ने प्रयासको रूपमा व्याख्या गरेको छ ।
तस्वीरमा देखिएका सबै अनुहारलाई ‘रोन अराड’ भनेर क्याप्सन गरिएको छ । रोन अराड सन् १९८६ मा लेबनानमा हराएका इजरायली वायुसेनाका क्याप्टेन हुन्, जसको वास्तविक अवस्था अझै अज्ञात छ ।
हमासले सार्वजनिक गरेको फोटोसहित ‘प्रधानमन्त्री नेतान्याहूको सम्झौता अस्वीकार र सेनाप्रमुख एयाल जामिरको आपत्तिसँगै गाजा सिटीमा सैन्य कारबाही सुरु हुने बेला गरिएको बिदाइ’ भन्ने टिप्पणी पनि गरेको छ ।
गाजा सिटी कब्जा गर्ने योजनामा नेतान्याहू दृढ रहेको भए पनि, सेनाप्रमुखले आपत्ति जनाएको प्रसंगलाई समेत यसमा संकेत गरिएको छ । इजरायली अधिकारीहरूका अनुसार अझै करिब २० बन्दीहरू जीवितै रहेको विश्वास छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संख्या अझै कम हुन सक्ने बताएका छन् ।
हमासले भने लगातार चेतावनी दिँदै आएको छ कि इजरायली आक्रमण बढेसँगै बन्दीहरूको जीवन जोखिममा परेको छ । उनीहरूले केही बन्दीहरू इजरायली बमबारीमै मारिएको दाबी समेत गरेका छन् ।
यसैबीच, तेल अभिभ लगायतका सहरमा लाखौं इजरायली नागरिक सडकमा उत्रिएर युद्ध अन्त्य गर्न र बन्दीहरूलाई तत्काल फर्काउन सरकारसँग सम्झौता गर्न दबाब दिइरहेका छन् ।
यसअघि पनि हमासले दुई-दुई इजरायली बन्दीहरूको भिडियो सार्वजनिक गरिसकेको छ, जसले बन्दीका परिवार, इजरायली अधिकारी तथा अन्तर्राष्ट्रिय समुदायबीच गहिरो आक्रोश र चिन्ता उत्पन्न गरेको छ ।
प्रकाशित मिति: शनिबार, असोज ४, २०८२