काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनको नाममा हिंसात्मक गतिविधि भड्काएर देशलाई अस्थिर बनाउन खोजिएको आरोप लगाएकी छन्। शुक्रबार प्रहरी अस्पताल पुगेर आन्दोलनका क्रममा घाइते प्रहरीलाई भेट्दै उनले शान्तिपूर्ण आन्दोलनको आडमा भएको तोडफोड, आगजनी र लुटपाटले गम्भीर चिन्ता पैदा गरेको बताइन्।
पूर्वराष्ट्रपति भण्डारीले आन्दोलनकारीको माग सुन्ने प्रक्रियालाई लोकतान्त्रिक अभ्यासको हिस्सा ठहर गरे पनि त्यसको आवरणमा गरिएको हिंसाले लोकतन्त्रलाई नै कमजोर बनाउने टिप्पणी गरिन्। "जेनजीका युवाले आफ्नो माग शान्तिपूर्ण तरिकाले राख्नुपर्छ भन्ने कुरा जायज हो। तर त्यही नामको आवरणमा लुटपाट, सार्वजनिक सम्पत्ति नष्ट गर्ने र प्रहरीलाई आक्रमण गर्ने काम हुनु दुःखद छ," उनले भनिन्।
उनले आन्दोलनका कारण ठूलो भौतिक तथा सामाजिक क्षति भएको उल्लेख गर्दै घाइते सुरक्षाकर्मीको उपचारमा सरकारले विशेष ध्यान दिनुपर्ने बताइन्। "नेपाल प्रहरीलाई अहिले आत्मबल र मनोबल दिनु पहिलो प्राथमिकता हो। उनीहरूले देश र जनताको सुरक्षामा गरेको योगदानलाई सम्मान गर्न आवश्यक छ," भण्डारीको भनाइ थियो।
पूर्वराष्ट्रपतिले प्रहरीका लागि आवश्यक भौतिक संरचना निर्माण गर्न सरकारलाई आग्रह गरिन्। उनले आन्दोलनका नाममा हुने तोडफोडले राष्ट्रिय सम्पत्ति मात्र नष्ट नभई विकासको बाटोमा गम्भीर अवरोध खडा गर्ने चेतावनी दिइन्। "राष्ट्रिय सम्पत्ति यसरी नष्ट गरेर विकास सम्भव छैन। देशलाई अघि बढाउन सबैले संयमता अपनाउनुपर्छ," उनले भनिन्।
भण्डारीले भावनात्मक उत्तेजनाभन्दा माथि उठेर राष्ट्रिय भावना र सामूहिक हितलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। उनले आन्दोलनका नाममा भएका घटना बारे गम्भीर अध्ययन र निष्पक्ष छानबिन गर्नुपर्ने सुझावसमेत दिइन्।
भण्डारीको भनाइले हालैको जेनजी आन्दोलनलाई लिएर देशभर चलेको बहसलाई थप चर्काएको छ। कतिपयले आन्दोलनलाई शान्तिपूर्ण नागरिक अभिव्यक्तिको रूपमा व्याख्या गरेका छन् भने अन्य पक्षले यसलाई बाह्य तत्वले हिंसा भड्काएको आरोप लगाउँदै आएका छन्।
प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२