काठमाडौं । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मुलुकको राजनीतिक यात्रामा नयाँ पुस्ताले देखाएको आकांक्षा, संघर्ष र बलिदानलाई गहिरो सम्मान गर्नुपर्ने बताएका छन् । उनले समाज र राष्ट्रको भविष्य निर्माणमा युवा पुस्ताको योगदानलाई आत्मसात् गर्दै पार्टीले आफ्नो गतिविधि अघि बढाउनुपर्ने आवश्यकता औंल्याए । सामाजिक सञ्जालमार्फत उनले हालै चर्चामा आएको जेनजी आन्दोलनको प्रसङ्ग स्मरण गर्दै आन्दोलनमार्फत युवाले अघि सारेका वैध मागलाई सम्बोधन गर्नु राज्य र राजनीतिक दलहरूको जिम्मेवारी रहेको तर त्यही आन्दोलनको आडमा हुने विध्वंसकारी र प्रतिगमनकारी प्रयासलाई भने दृढतापूर्वक विरोध गर्नुपर्ने स्पष्ट पारे ।
उनले भने, “जनपक्षीय जीवनशैली र आचरणमा जोड दिऔँ। आन्तरिक एकतामा जोड दिऔँ, पार्टी पङ्क्तिको मनोबल उच्च बनाऔँ। संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि जागरूक बनौँ र बनाऔँ।” पोखरेलले युवा पुस्ताले नेपालको राजनीतिक आन्दोलनमा सदैव महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको उदाहरणसमेत प्रस्तुत गर्दै आज पनि मुलुकलाई स्थिरता र सुशासनतर्फ डो-याउन उनीहरूको भूमिका अपरिहार्य रहेको उल्लेख गरे ।
महासचिव पोखरेलका अनुसार पार्टीले नयाँ पुस्ताको विश्वास जित्ने खालको कार्यशैली र नीतिहरू अपनाउन जरुरी छ । एमाले जबज (जनताको बहुदलीय जनवाद) को आधारमा उभिएको पार्टी भएकाले लोकतान्त्रिक मूल्य, संविधान र सङ्घीय गणतन्त्रको रक्षा गर्नु यसको प्रमुख दायित्व हो भन्ने उनको धारणा छ । उनले लोकतान्त्रिक शक्तिहरूसँगको सम्बन्ध र सहकार्यलाई अझ सुदृढ गर्दै अघि बढे मात्रै एमालेले वर्तमान चुनौतीलाई सफलतापूर्वक सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।
उनले आन्दोलनलाई जनताका माग सम्बोधन गर्ने अवसरका रूपमा लिनुपर्ने तर विध्वंस र अराजकतालाई कुनै हालतमा सहन नहुने चेतावनीसमेत दिए । उनका अनुसार मुलुकलाई अस्थिरता र अव्यवस्थातर्फ धकेल्ने गतिविधि रोकेर मात्र स्थिर, समृद्ध र सबल नेपाल निर्माण सम्भव छ । उनले पार्टीलाई जनतासँग नजिक रहनुपर्ने, संगठनलाई अनुशासित र क्रियाशील बनाउनुपर्ने तथा नेतृत्वले शुद्ध जीवनशैलीमा जोड दिनुपर्नेमा समेत बल दिए ।
महासचिव पोखरेलले अन्ततः विश्वास व्यक्त गर्दै भने, “जबजको जगमा उभिएको हाम्रो पार्टी र आन्दोलनले वर्तमानका सबै चुनौतीलाई सम्बोधन र समाधान गर्न सफल हुनेछ।”
प्रकाशित मिति: बुधबार, असोज १, २०८२