काठमाडौं । नेकपा (एमाले) का सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले सोमबार पार्टीको केन्द्रीय कार्यालय, च्यासल, को निरीक्षण गर्नुभएको छ । हालै जेनजी आन्दोलनको नाममा विभिन्न अपराधिक समूहको घुसपैठका कारण भवनमा भएको क्षति प्रत्यक्ष अवलोकन गर्न महासेठ त्यहाँ पुग्नुभएको हो ।
निरीक्षणमा उहाँसँगै नेपाली कांग्रेसका नेता अर्जुन सिंह पनि सहभागी हुनुभएको थियो ।
महासेठले पार्टी कार्यालयमा भएको भौतिक क्षति हेरेपछि आन्दोलनलाई लोकतान्त्रिक अधिकारको अभ्यास भन्दै हिंसा, तोडफोड र आगजनीलाई वैधानिक ठहर गर्न नसकिने टिप्पणी गर्नुभयो । उहाँले भन्नुभयो, “शान्तिपूर्ण आन्दोलन नागरिक अधिकार हो, तर यसमा घुसपैठ गरी पार्टी कार्यालय मात्र होइन, सार्वजनिक सम्पत्ति समेत ध्वस्त पार्नु अपराध हो । यस्तो गतिविधिलाई आन्दोलनको नाममा लुकाउन मिल्दैन ।”

जेनजी आन्दोलनका नाममा अपराधिक समूहको प्रवेश भएको देखिएको भन्दै महासेठले तोडफोडमा संलग्नहरूलाई कानुनी प्रक्रियाबाट कडाभन्दा कडा कारबाही गर्न सरकारसँग माग गर्नुभयो ।
निरीक्षणमा सहभागी कांग्रेस नेता अर्जुन सिंहले पनि सार्वजनिक सम्पत्ति र दलहरूको राजनीतिक कार्यालय माथि भएको आक्रमणलाई निन्दनीय भन्दै जिम्मेवार निकायलाई सचेत गराउनुपर्ने धारणा राख्नुभयो ।
एमाले मुख्यालयको भवनमा भएको क्षतिपछि नेतृत्व तहका अन्य जिम्मेवार व्यक्तिहरू समेत क्रमशः घटनास्थल पुगेका छन् ।



प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२