काठमाडौं । जेनजी आन्दोलन शान्त हुँदै गएसँगै सेनाको ब्यारेकमा राखिएका अधिकांश नेताहरू फर्किएका छन् । सैनिक स्रोतका अनुसार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीलगायत केही नेताबाहेक अन्यलाई ब्यारेकबाट पठाइसकिएको छ । अझै केही नेताको बसोबास र सुरक्षा प्रबन्ध भने अन्तिम चरणमा रहेको जनाइएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मंगलबार सेनाको सुरक्षाबाट बाहिर निस्किएर पेरिसडाँडा पार्टी कार्यालय पुगेर निरीक्षणसमेत गरेका छन् । यसअघि विपक्षी दलहरूको बैठकका क्रममा प्रचण्ड, माधवकुमार नेपाललगायत नेताहरूलाई सिंहदरबारबाटै सेनाले सुरक्षित स्थानमा लगेको थियो ।
निवर्तमान मन्त्रीहरूलाई पनि सेनाको हेलिकप्टरमार्फत सुरक्षित स्थानमा सारिएको थियो भने तत्कालीन प्रधानमन्त्री ओलीलाई बालुवाटारबाटै सेनाले उडाएर लगेको थियो ।
अन्तरिम सरकार गठनसँगै आन्दोलन मत्थर हुँदै गएपछि नेताहरूलाई धमाधम फिर्ता पठाइएको हो । उनीहरूको सुरक्षा ‘भीआईपी सुरक्षा कार्यविधि’ अनुसार बलियो बनाइएको र उच्च थ्रेट भएका नेताहरूलाई थप सुरक्षाकर्मी उपलब्ध गराइएको स्रोतले बतायो ।
आन्दोलनका क्रममा केही नेताहरूको घरमा आगजनी भएकोले अहिले उनीहरू आफन्त वा साथीहरूसँग बसिरहेका छन् भने केहीले डेरा लिएर बस्न थालेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पत्नी आरजु देउवा प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका थिए । दुवैको उपचार अहिले पनि जारी छ ।
प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२