काठमाडौं । राष्ट्रपति कार्यालयको भग्नावशेष भवन बाहिर सोमबार तीन नवनियुक्त मन्त्रीहरूले शपथ ग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा अर्थमन्त्री रामेश्वर खनाल, ऊर्जा, भौतिक योजना तथा सहरी विकासमन्त्री कुलमान घिसिङ र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याललाई शपथ दिलाएका हुन्।
जेनजी आन्दोलनका क्रममा आगजनीपछि शीतल निवास प्रयोगयोग्य नभएपछि शुक्रबार प्रधानमन्त्री कार्कीको शपथ भित्रै बस्न नमिल्ने कक्षभित्रै गरिएको थियो। तर सोमबार भने खण्डहर भवन अगाडि पाल टाँगेर मन्त्रीहरूको शपथ कार्यक्रमको व्यवस्था मिलाइएको हो।
कार्यक्रममा सरकारी निकायका उच्च पदाधिकारी तथा कूटनीतिक नियोगका प्रमुखहरू पनि उपस्थित रहेका थिए। यससँगै घिसिङलाई तीन मन्त्रालय र अर्याललाई दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२