काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा सहभागी हुने तीन मन्त्रीको नाम अन्तिम टुंगो लागेको छ। प्रधानमन्त्री निवास बालुवाटारका स्रोतअनुसार अर्थ मन्त्रालय रामेश्वर खनाललाई, गृहमन्त्रालय ओमप्रकाश अर्याललाई र ऊर्जा मन्त्रालय कुलमान घिसिङलाई दिने निर्णय भएको हो।
स्रोतका अनुसार अर्यालले गृहमन्त्रालयसँगै कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नेछन्। घिसिङलाई ऊर्जा मन्त्रालयबाहेक भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालय समेत दिने तयारी छ।
“यो प्रारम्भिक सूची मात्र हो, मन्त्रालयको जिम्मेवारी थप वा परिमार्जन हुन सक्छ,” स्रोतले जानकारी दियो। तीनै जनाको पत्र तयार भइसकेको र उनीहरूको शपथग्रहण भोलि बिहान हुने बताइएको छ।
रामेश्वर खनाल हालै मात्र उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्षका रुपमा सरकारलाई प्रतिवेदन बुझाइसकेका छन्। उनी पूर्वअर्थसचिव समेत हुन्।
ओमप्रकाश अर्याल कानुन व्यवसायी हुन्। विभिन्न संवैधानिक रिट निवेदन र सामाजिक आन्दोलनका कारण चर्चित अर्याल पछिल्लो समय काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) का कानुनी सल्लाहकारका रुपमा सक्रिय थिए।
कुलमान घिसिङ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकका रुपमा लामो समय काम गरेका थिए। उनले लोडसेडिङ अन्त्यमा महत्त्वपूर्ण भूमिका खेलेका थिए। ओली नेतृत्वको सरकारले उनलाई बर्खास्त गरेको थियो।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२