काठमाडौं । नेकपा एमालेका सचिव एवं पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले संसद विघटन गर्ने प्रधानमन्त्री सुशीला कार्कीको कदम असंवैधानिक रहेकाले यसका विरुद्ध सबै राजनीतिक दलहरुलाई एकजुट हुन आग्रह गर्नुभएको छ । संसद विघटन गर्ने यसअघिका प्रधानमन्त्रीको कदम असंवैधानिक भएको सर्वोच्च अदालतको नजिरलाई समेत वेवास्ता गर्दै पूर्व प्रधानन्यायाधीश समेत रहेकी प्रधानमन्त्री कार्कीले संसद विघटन गरेपछि सचिव महासेठले यस्तो धारणा राख्नुभएको हो ।
प्रधानमन्त्री नियुक्त भएलगत्तै संसद विघटनको सिफारिस गर्ने प्रधानमन्त्री कार्कीको कदम असंवैधानिक रहेकाले एकजुट भएर प्रतिकार गर्न सचिव महासेठले विघटित प्रतिनिधि सभाका सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको हो । सुशासन र न्यायपूर्ण समाजको परिकल्पना सबैको साझा उद्देश्य रहेको भएपनि जेनजी पुस्ताको आन्दोलनको नाममा देशी विदेशी शक्तिहरुले षड्यन्त्रपूर्वक संसद विघटन गराएको सचिव महासेठको भनाइ रहेको छ ।
देशी विदेशी शक्तिको इसारामा प्रधानमन्त्री सिफारिस भएकी कार्की देशको सार्वभौम सत्ता र लोकतन्त्र संकटमा पार्ने काममा सहयोगी भएको सचिव महासेठको आरोप छ । महासेठद्वारा आइतबार जारी भएको वक्तव्यमा भनिएको छ : जनताको सार्वभौम संसद विघटन गर्ने कार्यका विरुद्ध डटेर सामना गर्नुपर्छ । यस असंवैधानिक कदमका विरुद्ध सबै देशभक्त र लोकतन्त्रवादी शक्तिहरुले सडक र अदालत दुवै बाटोबाट डटेर चुनौती दिनुपर्ने महासेठद्वारा जारी गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।
राष्ट्रपतिलाई जंगी घेराको दबावमा राखेर यस्तो असंवैधानिक कदम चाल्न बाध्य पारिएको हुन सक्ने तर्फ संकेत गर्दै सचिव महासेठले नेपालको हित नचाहने देशी विदेशी शक्तिहरुको षड्यन्त्रबाट लोकतन्त्र मास्ने कार्य हुन खोजिएको बताउनुभएको छ । यसका विरुद्ध नेकपा एमाले, नेपाली कांग्रेस, माओवादीलगायत सबै राजनीतिक दलहरु एकजुट भएर संघर्ष गर्नुको विकल्प नरहेको महासेठद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । यसअघि संसद विघटनको चर्को विरोधमा उत्रिएकी सुशीला कार्कीद्वारा नै संसद विघटनको सिफारिस हुनु आश्चर्यको विषय भएको बताउँदै सचिव महासेठले भन्नुभयो : यो सबै मुलुकको सार्वभौम सत्ता र लोकतन्त्र मास्न रचिएको षड्यन्त्र हो ।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२