काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ सुमना श्रेष्ठले औपचारिक रूपमा पार्टी परित्याग गरेकी छन्।
श्रेष्ठले पार्टीका केन्द्रीय सदस्यहरूको ग्रुपमार्फत आफूले रास्वपा छाडेको जानकारी दिँदै असन्तुष्टि पोखेको बताइन्छ। लामो समयदेखि पार्टीभित्रको निर्णय प्रक्रिया र नेतृत्व शैलीप्रति असहमति राख्दै आएकी उनले अन्ततः "I QUIT" भन्दै पार्टीसँगको सम्बन्ध तोडेको घोषणा गरेकी हुन्।
"कहिल्यै गल्ती नस्वीकार्ने, गल्तीमाथि गल्ती गर्दै जाने र त्यसको बोझ सबैले बोक्ने बाध्यता बनाइयो। आलोचकहरूलाई मिडियामा ट्रायल गर्ने संस्कार विकास भयो। यो स्वीकार्य छैन," श्रेष्ठले ग्रुपमा लेखेकी छन्।
हालै प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण कार्यक्रममा उपस्थित भएपछि उनी मन्त्री बन्ने चर्चा चलेको थियो। तर श्रेष्ठको निकट स्रोतका अनुसार उनले तत्काल कुनै पार्टी प्रवेश वा मन्त्री पदको तयारी नगरेकी हुन्। उनी स्वयंले पनि "अहिले बाहिरैबाट सरकारलाई सघाउने" बताएकी छन्।
श्रेष्ठले यसअघि रास्वपाको सहमहामन्त्री पद त्यागेकी थिइन्। उनी निवर्तमान सांसद समेत हुन्।
प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२