काठमाडौँ । तिब्बती धर्मगुरु दलाई लामाले नेपालकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई बधाई पत्र पठाउँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
भारतको धर्मशालास्थित थेक्छेन छोलिङबाट पठाइएको पत्रमा उनले नेपाली र तिब्बती जनताबीचको ऐतिहासिक सम्बन्धलाई स्मरण गर्दै नेपाल सरकार र जनताप्रति विशेष कृतज्ञता व्यक्त गरेका छन्।
दलाई लामाले लेखेका छन्, “सन् १९५९ पछि तिब्बतबाट जबरजस्ती पलायन भएका शरणार्थीहरूको पुनर्वासका लागि नेपालले दिएको सहयोगप्रति म धेरै आभारी छु।”
नेपालमा रहेको तिब्बती समुदाय सानो भए पनि देशको आर्थिक विकासमा योगदान पुर्याइरहेको उल्लेख गर्दै उनले नेपालले विगतका वर्षहरूमा सबै क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको प्रशंसा गरेका छन्।
“यस्ता उपलब्धिहरूले गरिब र खाँचोमा परेका मानिसहरूको जीवनमा वास्तविक सुधार ल्याउँदा अझ अर्थपूर्ण हुन्छ,” दलाई लामाले लेखेका छन्।
पत्रको अन्त्यमा उनले प्रधानमन्त्री कार्कीलाई सफल कार्यकालका लागि शुभकामना दिँदै भनेका छन्, “यी चुनौतीपूर्ण समयमा नेपाली जनताको आशा र आकाङ्क्षा पूरा गर्न तपाईंलाई हरेक सफलता मिलोस् भन्ने मेरो प्रार्थना छ।”
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२