काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिने भएको छ । पाँच दिनअघि कारागारबाट निस्किएका उनले शनिबार साँझ पुनः आफैं फर्किएर कारागार प्रवेश गरेका हुन् ।
स्रोतका अनुसार उनले हालको परिस्थितिमा सुरक्षाको पर्याप्त प्रत्याभूति नभएको भन्दै विशेष सुरक्षा माग गरेका थिए । सुरुमा कारागार प्रशासनले आनाकानी गरे पनि प्रहरी प्रशासनमार्फत सशस्त्र प्रहरीलाई पत्राचार गरी थप सुरक्षा व्यवस्था मिलाइने प्रक्रिया सुरु भएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीले बताए ।
रवि लामिछाने शनिबार करिब ५ बजे पत्नी निकिता पौडेल र रास्वपाका कार्यवाहक सभापति डीपी अर्यालसहित कारागार पुगेका थिए । हाल उनीहरु कारागारभित्र प्रहरी–प्रशासनसँग निरन्तर सम्वादमा रहेका छन् । नख्खु कारागार हाल सशस्त्र प्रहरीको सुरक्षा नियन्त्रणमा छ ।
यसैबीच, रास्वपाले विज्ञप्ति जारी गर्दै प्रथम महिला प्रधानमन्त्री नेतृत्वको अन्तरिम सरकारलाई संविधान पालना, भ्रष्टाचारविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधारलाई प्राथमिकतामा राख्न आग्रह गरेको छ । महासचिव कवीन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा मुलुकलाई संक्रमणकालीन अवस्थाबाट पार लगाउन सरकारलाई अपील गरिएको छ ।
रास्वपाले प्रतिनिधिसभाको नयाँ निर्वाचन आगामी ६ महिनाभित्र सम्पन्न गर्नुपर्नेमा जोड दिँदै लोकतान्त्रिक हकअधिकारको संरक्षण, असल शासन र पारदर्शी सत्ता हस्तान्तरण सुनिश्चित गर्न अपेक्षा गरेको छ । साथै, चरम भ्रष्टाचार र दण्डहीनता अन्त्य गर्न र विकासमा गुणस्तरीय दूतत्व देखाउन पनि आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘घोषित लक्ष्यहरूबाट सरकार च्युत भए प्रतिरोध हुनेछ ।’ पार्टीले राष्ट्रिय हित, एकता र सौहार्द प्रवर्द्धनमा भने सधैँ सहयोगी रहने प्रतिवद्धता जनाएको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२