काठमाडौं । धरानका मेयर हर्क साम्पाङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीमाथि विदेशी शक्तिको आशीर्वादमा सरकार नेतृत्व गर्न आएको आरोप लगाएका छन्।
प्रधानसेनापति अशोक सिग्देलसँग चुनावी सरकारको नेतृत्वका लागि भेट गरे पनि असफल भएका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै भने, "विदेशी शक्तिको प्रधानमन्त्री जो भए पनि जनताको प्रधानमन्त्री मै हुँ। साराले रुचाए पनि डिजाइनरले रुचाएनन्। आज जेनजीको मत सर्वेक्षण गर्दा हुन्छ। भत्किएको देश बनाउन सक्थेँ, भिजन र योजना छ मसँग।"
शुक्रवार बेलुका राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा अनुसार पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई चुनाव गराउने जिम्मेवारीसहित प्रधानमन्त्रीमा नियुक्त गरेर शपथ गराइसकेका छन्। शीतल निवासमा सामान्य रूपमा आयोजित शपथ समारोहमा "हामी नेपाली" नामक एनजिओका प्रमुख सुदन गुरुङ उपस्थित भए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह देखिएनन्।
शपथमा प्रमुख राजनीतिक दलका नेताहरू अनुपस्थित रहे भने पूर्वप्रधानमन्त्रीमध्ये केवल डा. बाबुराम भट्टराई मात्र सहभागी भए। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठ पनि कार्कीलाई बधाई दिन पुगेकी थिइन्।
समारोहमा भारत, चीनसहित विभिन्न मुलुकका राजदूतहरू, उपराष्ट्रपति, सभामुख, राष्ट्रिय सभा अध्यक्ष र प्रधानसेनापति अशोक सिग्देलको उपस्थिति रहेको थियो।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२