काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीमाथि विदेशी शक्तिको प्रतिनिधि बनेको आरोप लगाएका छन्।
प्रधानमन्त्री बन्ने प्रयासमा केही दिनअगाडि प्रधानसेनापति अशोक सिग्देलसँग भेटेर असफल भएका साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, “विदेशी शक्तिको प्रधानमन्त्री जो भए पनि जनताको प्रधानमन्त्री म नै हुँ। साराले रुचाए पनि डिजाइनरले रुचाएनन्। आज जेनजीको मत सर्वेक्षण गर्दा हुन्छ। भत्किएको देश बनाउन सक्थेँ, भिजन र योजना छ मसँग।”
राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार बेलुका चुनावी सरकारको नेतृत्व गर्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरी शपथ खुवाइसकेका छन्।
शीतल निवासमा भएको साधारण शपथ समारोहमा हामी नेपाली नामक एनजिओका प्रमुख सुदन गुरुङ उपस्थित भए पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह भने देखिएनन्। प्रमुख राजनीतिक दलका नेताहरू पनि अनुपस्थित रहे। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई मात्र उपस्थित थिए भने राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले कार्कीलाई बधाई दिएकी थिइन्।
समारोहमा भारत र चीनका दूताबाससहित अन्य देशका राजदूतहरू पनि सहभागी भए। उपराष्ट्रपति, सभामुख, राष्ट्रियसभा अध्यक्ष र प्रधानसेनापति अशोक सिग्देलको समेत उपस्थिति रहेको शपथ समारोह शीतल निवासको भित्री कोठामा सम्पन्न भएको थियो।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२