काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पछिल्ला राजनीतिक संकटले एमालेलाई आत्ममूल्यांकन गर्न बाध्य बनाएको भन्दै पार्टीलाई नयाँ ढंगले पुनर्गठन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। उनले विचलित भएर, असन्तुष्ट भएर वा आत्तिएर पार्टी छोडेका नेता–कार्यकर्तालाई पुनः जिम्मेवारीमा फर्किन आह्वान गर्दै, “पार्टीभित्र सबै खाले विचार र मतलाई स्थान दिएर अघि बढ्नु समयको माग हो,” भनेका छन्।
भट्टराईले शुक्रबार एक भिडियो सन्देशमार्फत वर्तमान परिस्थितिलाई जेनजी आन्दोलनपछि उत्पन्न अस्थिरतासँग जोड्दै, त्यसबाट आउने सन्देशलाई गम्भीरतापूर्वक लिनुपर्ने बताए। उनका अनुसार, जेनजी पुस्ताको आक्रोश केवल असन्तुष्टि होइन, नयाँ पुस्ताले संविधान र लोकतन्त्रसँग जोडिएको भविष्यमाथिको प्रश्न हो। “त्यो भावनालाई अपमान गर्ने होइन, मार्गदर्शन गर्ने काम पुराना पुस्ताले गर्नुपर्छ,” उनले जोड दिए।
संविधानिक निकासबारे बोल्दै भट्टराईले भने, “हामीसँग संविधान र संसद् जीवित थियो। त्यही बाटोबाट सरकार बनाउने विकल्प स्पष्ट थियो। संसद्भित्र बहुमतको आधार हुँदाहुँदै पनि त्यसलाई प्रयोग नगरिनु गलत भयो।” उनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई संसद्ले जिम्मेवारी दिने आधार हुँदाहुँदै त्यसो नगरिनु संविधानको अवमूल्यन भएको उल्लेख गरे।
उनले संसद् विघटनलाई सही कदम नभएको ठहर गर्दै भने, “संविधानलाई मिचेर अघि बढ्ने प्रयास जनताले कहिल्यै समर्थन गर्दैनन्। एमाले त्यसको बाधक छैन। हाम्रो भाग खोज्ने चाहना छैन। हामी केवल संविधान र लोकतान्त्रिक प्रक्रियामै अडिन्छौं।”
सचिव भट्टराईले संविधान खारेज गर्ने वा त्यसको मूल्य घटाउने प्रयास अत्यन्त गम्भीर परिणामतर्फ लैजाने चेतावनी दिए। उनका अनुसार, “यो संविधान सानो प्रयासले बनेको होइन। दशकौंको संघर्ष, बलिदान र सहमतिबाट आएको हो। त्यसैले यसलाई कमजोर बनाउने प्रत्येक कदम खतरनाक हुन्छ।”
यसैबीच, उनले आह्वान गरे–पार्टीभित्र केवल नेतामुखी राजनीति होइन, विचार र पुस्तामुखी समन्वय आवश्यक छ। फरक मतलाई सम्मान गर्दै संगठनात्मक रूपमै नयाँ पुस्तालाई स्थान दिने हो भने मात्र एमाले बलियो बन्न सक्ने उनको तर्क छ।
प्रकाशित मिति: शनिबार, भदौ २८, २०८२