काठमाडौं । जेनजी आन्दोलन तीव्र बन्दै गएपछि शीर्ष नेताहरूलाई सुरक्षा कारण देखाउँदै विभिन्न स्थानमा सार्न थालिएको छ । काठमाडौंको आकाशमा लगातार हेलिकोप्टर उडिरहेका छन् भने भैंसेपाटीस्थित मन्त्रिक्वार्टरमा पटक–पटक अवतरण भएको छ । सुरक्षास्रोतका अनुसार केही नेताहरूलाई उद्दार गरेर लगिएको भए पनि उनीहरूलाई कहाँ सारिएको भन्नेबारे खुलाइएको छैन ।
उच्च सुरक्षा स्रोतका अनुसार चारै सुरक्षा निकाय परिचालित छन् । बालुवाटारसहित विभिन्न स्थानमा सैनिक तथा निजी हेलिकोप्टर अवतरण भएका छन् । अन्य स्थानमा रहेका नेताहरूलाई समेत सुरक्षित स्थानमा राखिएको एक अधिकारीले बताए ।
‘पूर्वप्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा आगजनी भएको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीको घर वरिपरि पनि तनावपूर्ण स्थिति छ,’ एक अधिकारीले भने, ‘यस्तोमा उहाँहरूको सुरक्षा सुनिश्चित गर्नु हाम्रो दायित्व हो ।’
यसैबीच, ओलीको गृहजिल्ला झापा र उर्जामन्त्री दिपक खड्काको संखुवासभास्थित घरमा पनि तोडफोड भएको छ । परिस्थिति नियन्त्रणबाहिर पुगेपछि प्रधानमन्त्री ओलीले साँझ ६ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन् ।
सोमबार भएको जेनजी आन्दोलनमा प्रहरीले गरेको दमनका कारण १९ युवाको मृत्यु भएको थियो भने २ सय बढी घाइते भएका छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२