प्रतीक लामिछाने
लक्जेम्बर्गसिटी,लक्जेम्बर्ग । विदेशमा बस्ने गैर आवासीय नेपालीहरुप्रति राज्यले देखाएको व्यवहार पूर्वाग्राही भएको भन्दै विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तिहरुले दुःख व्यक्त गरेका छन् । उनीहरुले गैरआवासीय नेपालीहरुलाई दोश्रो दर्जाको नागरिकको रुपमा हेर्ने नेपाल सरकारको दृष्टिकोण नै दोषी रहेको भन्दै यस्तै अवस्था रहिरहे गैरआवासीय नेपालीहरुबाट राज्यले अपेक्षितरुपमा सहयोग पाउन नसक्ने धारणा राखे । युरोपेली मुलुक लक्जेम्बर्गमा आइतबार आयोजित एक छलफल कार्यक्रममा यहाँ विभिन्न क्षेत्रका क्रियाशिल नेपाली समुदायका व्यक्तिहरुले गैर आवासीय नेपालीहरुलाई काठमाडौं विमानस्थलमा ओर्लेदेखिनै गैरनागरिकको व्यवहार हुने गरेको भन्दै यसलाई सच्चाउनका लागि सरकारलाई विशेष आग्रह समेत गरेका थिए ।

गैर आवासीय नेपाली भएकै कारण नेपालका सरकारी कार्यालय र कामकाजमा हुने विलम्ब र झण्झटले आफूहरुलाई दुःखित तुल्याएको उनीहरुको गुनासो छ । बेनलक्स (बेल्जियम, नेदरल्याण्ड र लक्जेम्बर्ग) को जिम्मेवारी लिएको बेल्जियमको ब्रसेल्सस्थित नेपाली दुतावास र लक्जेम्बर्गस्थित नेपाली समुदायबीच आइतबार दिउँसो लक्जेम्बर्गसिटीमा भएको अन्र्तक्रिया तथा सुझाव संकलन कार्यक्रममा सहभागीहरुले यस्तो धारणा राखेका हुन । कार्यक्रममा गैरआवासीय नेपाली संघ लक्जेम्बर्गका पूर्व अध्यक्ष एवं व्यवसायी हरी खत्रिले गैर आवासीय नेपालीप्रति सरकारले गर्ने व्यवहार विभेदपूर्ण रहेको भन्दै यसले गैरआवासीय नेपाली र सरकारबीच दूरी बढाएको धारणा राख्नुभयो । उहाँले केहीसमय अघि आफू नेपाल जाँदा विदेशी पासपोर्ट देखाएकै कारण विमानस्थलमा खटिएका सरकारी कर्मचारीले आफूलाई दुःख दिएको घटना स्मरण गर्नुभयो । वर्षौदेखि घाँटीमा लगाईको सुनको सिक्री जर्वजस्ती खोल्न लगाएर आफूलाई दुव्र्यबहार गरेको स्मरण गर्दै खत्रीले यस्ता व्यवहारले गैरआवासीय नेपालीको आत्मसम्मानमा चोट पुगेको बताउनुभयो । सरकारले गैरआवासीय नेपालीहरुलाई स्वदेशमै व्यवसाय गर्ने वातावरण बनाउने हो भने आफूहरुजस्ता सयौं नेपाली स्वदेश फर्कन तयार रहेको खत्रीको भनाई छ । लक्जेम्बर्गका पुराना व्यवसायी एवं समाजसेवी नारायण गुरुङ्गले देशभित्र अबसर नहुँदा विदेशिएका नागरिक नेपाल फर्कन नसकेको र अबसरकै खोजीमा देश छाड्ने लहर बढ्दै जाँदा देशै रित्तो हुने अवस्थामा पुगेकोतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले गैर आवासीय नेपालीहरुप्रति राज्य कठोर बन्दै जाँदा नेपालमा भएका आफ्नो पुर्खौली सम्पत्ति र जग्गाजमिन बेचेर विदेशिनेहरुकोे संख्या बढ्नु दुःखद भएको बताउनुभयो ।

यस्तै गैर आवासीय नेपाली संघ लक्जेम्बर्गकी महिला उपाध्यक्ष दुर्गा थापाले लक्जेम्बर्गसहित कतिपय युरोपका सम्पन्न देशमा रोजगारीका लागि भन्दै नेपाललगायत खाडी राष्ट्रमा रहेका नेपालीहरुबाट लाखौं लिएर कामदारलाई विचल्ली बनाएका घटनाहरुतर्फ सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । यसका लागि दुतावासलाई सार्वजनिक रुपमै अपिल र सचेतानामूलक कार्यक्रम गर्न थापाले आग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले देशलाई अप्ठेरो पर्दा गैर आवासीय नेपालीहरुले मन बचन र कर्मबाट सहयोग गर्दै आइरहेपनि अहिलेको संबैधानिक व्यवस्था गैर आवासीय नेपालीहरुप्रति उदार नभएकोतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । उनीहरुले विदेशमा दुःख गरेर कमाएको रकम नेपाल लैजानका लागि सरकारले सहज वातावरण बनाइदिने हो भने विदेशमा रहेका नेपालीहरु स्वदेश नै फर्केर व्यपार र व्यवसायमा लाग्न तयार रहेको धारणा राखेका थिए । यस्तै नेपालबाट दक्षजनशक्ति लक्जेम्बर्गलगायत युरोपका विकसित देशमा ल्याउनका अहिले पनि कतिपय कानुनी तथा कुटनीतिक कठिनाई रहेको भन्दै यसलाई सरकारी तबरबाटै समाधान गर्नुपर्नेमा उनीहरुको जोड छ । यसो हुन सकेको अवस्थामा युरोपमा रोजगारीको लागि भन्दै दिनुहँ भै रहेका ठगी रोकिने विश्वास उनीहरुले व्यक्त गरेका छन् । यस्तै कतिपय सहभागीहरुले पछिल्ला केही महिनायता लक्जेम्बरमा रोजगारीका लागि भन्दै विभिन्न सामाजिक सञ्जालको माध्यमबाट झूठा प्रचार गरिएको र यथार्थमा त्यस्तो नभएको भन्दै सबैको ध्यानाकर्षण गराएका थिए ।
युरोपमा रोजगारीको लागि भन्दै सामाजिक सञ्जालमा व्याप्त झूठा प्रचारको पछि लागेर समय र पैसाको बर्बादी नगर्न र यस विषयमा सबै प्रक्रिया राम्ररी बुझेर र पक्का भएपछिमात्रै प्रक्रिया अघि बढाउन नेपाललगायत अन्य देशमा रहेका र युरोप आउन चाहनेहरु नेपालीहरुलाई आग्रह गरेका छन् । छलफलमा सहभागीहरुले गैरआवासीय नेपालीहरुलाई सरकारले प्रदान गर्ने नागरिकता र यसबाट पाईने सेवा सुविधाको बारेमा संविधानमा स्पष्ट व्याख्या नहुँदा आफूहरुले दुःख पाएको तर्फ दुतावासमार्फत् सरकारको ध्यानाकर्षण गराएका थिए ।

उनीहरुले नेपालमा रहेको आफ्नो पैतृक सम्पत्तिको रक्षाकै प्रश्न उठेको भन्दै यस्तै अवस्था रहेमा दोश्रो पुस्ता नेपाल फर्कन सक्ने अवस्था नरहने र यसबाट मुलुकलाई ठूलो घाटा हुनेतर्फ सचेत गराएका थिए । कार्यक्रममा लक्जेम्बर्गका व्यवसायीहरु बालकृष्ण थापा, नारायण दवाडी, विजय कँडेल, जितु थापा, गैरआवासीय नेपाली संघ लक्जेम्बर्गका महासचिव बालहरी राई, सचिव झलक गैह्रेलगायतले दुतावासमार्फत् सरकारलाई विभिन्न खाले सुझाव दिएका थिए ।
छलफल कार्यक्रममा सहभागी बेनलक्सका लागि नेपाली राजदूत सेवा लम्सालले लक्जेम्बर्गमा रहेका नेपालीहरुले उठाएका समस्या र गुनासो आफूले दूतावासमार्फत् नेपाल सरकारलाई जानकारी गराईदिने बचन दिनुभएको थियो । कार्यक्रममा बेनलक्स (बेल्यियम, नेदरल्याण्ड र लक्जम्बर्ग) को समेत जिम्मेवारी लिएको बेल्जियमको ब्रसेल्सस्थित नेपाली दुतावासले लक्जेम्बर्गमा रहेका नेपालीहरुलाई लक्षित गरी एक दिने घुम्ती सिविर समेत सञ्चालन गरेको थियो । त्यस अवसरमा राहदानी नविकरण, जन्मदर्ता, वारेसनामालगायत दूतावासबाट प्राप्त हुने सेवाबाट एकदजर्न बढी सेवाग्राही लाभान्वित भएका थिए ।
कार्यक्रममा कार्यकाल सकेर अर्को महिना नेपाल फर्कन लागेका दूतावासका द्वितीय सचिव रुउस कार्की तथा तृतीय सचिव रमेश गैह्रेलाई उहाँहरुमार्फत दुतावासबाट प्राप्त सहयोगप्रति गैरआवासीय नेपाली संघ लक्जम्बर्गले धन्यावाद व्यक्त गरेको थियो ।


प्रकाशित मिति: बुधबार, असार २५, २०८२