काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माइतीघर मण्डलालाई एकतर्फी प्रदर्शनस्थल बनाइएको भन्दै आलोचना गरेका छन्।
उनका अनुसार राज्यप्रति असन्तुष्टि, फरक विचार र जनमत अभिव्यक्त गर्ने सार्वजनिक स्थलका रूपमा रहेको माइतीघर मण्डला पछिल्ला दिनमा सीमित व्यक्तिहरूको प्रदर्शनस्थलजस्तो बनाइएको छ।
पोखरेलले काठमाडौं महानगरका मेयर बालेन शाह, ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालका समर्थकहरूले मात्रै त्यहाँ प्रदर्शन गरिरहेको आरोप लगाएका छन्।
सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “माइतीघर मण्डला कुनै एक पक्षका लागि मात्रै होइन, सबैका लागि हो। बालेन, सुदन वा गृहमन्त्रीका समर्थकहरूको मात्रै प्रदर्शनस्थल बनाउनु कानुनी सिद्धान्तमाथिको उपहास हो।”
उनले माइतीघर मण्डलाको खुला र निष्पक्ष चरित्र जोगाउन सबै पक्षलाई समान अवसर दिन राज्य र प्रशासनलाई आग्रह गरेका छन्।
प्रकाशित मिति: शनिबार, कात्तिक ९, २०८२