काठमाडौँ । बन्दाबन्दीमा चक्रपथभित्र अनलाइन मार्फत होम डेलिभरी सेवा प्रदान गर्दै आएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले अब काठमाडौँ उपत्यकाका अन्य क्षेत्रमा डेलिभरी गर्ने तयारी गरेको छ ।
बन्दाबन्दी अवधिमा उपभोक्तासँग उपत्यकाभित्र डेलिभरी चार्ज नलिनका लागि निजी कम्पनी सस्तोडिलसँग व्यापार साझेदारी गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत नेत्रप्रसाद सुवेदीले जानकारी दिए ।
सुरुआती चरणमा चक्रपथभित्र मात्र डेलिभरी सुरु गरिएको थियो, सबै आन्तरिक तयारी पूरा गरेर उपत्यका भित्र विस्तारको योजना बनाइएको हो , उनले भने । चक्रपथभन्दा ५ किलोमिटर बाहिरसम्म १-२ दिनभित्र अनलाइन डेलिभरी सुरु गर्ने तयारी गरिएको तथा अन्य स्थानमा विस्तारै गर्दै जाने जनाइएको छ ।
यसैगरी चक्रपथ बाहिर डेलिभरी सुरु गर्दा जडिबुटी प्रशोधन कम्पनीसँगको सहकार्यमा स्यानिटाइजर समेत अनलाइन बिक्रीमा राख्ने तयारी भएको सुवेदीले जानकारी दिए ।
लकडाउनका कारण समस्यामा परेका उपभोक्तालाई ध्यानमा राख्दै कम्पनीले पहिलो चरणमा चक्रपथभित्र गत चैत २६ गतेदेखि अनलाइनमार्फत होम हेलिभरी सेवा प्रदान गर्दै आएको छ ।
चैत २६ देखि जेठ ३० गतेसम्म चक्रपथभित्रबाट ४ सय १८ अनलाइन अर्डर आएको कम्पनीका सूचना अधिकारी शर्मिला न्यौपानेले जनाकारी दिइन् ।
उनका अनुसार अनलाइन डेलिभरीवाट १३ लाख ४३ हजार ७ सय ६५ रुपैयाँ बराबरको खाद्य पदार्थ बिक्री भएको छ । सोमध्ये २ सय ५ क्विन्टल चामल, १० क्विन्टल कर्णालीको सिमी, ६ क्विन्टल दाल, २ क्विन्टल केराउ र ३९ लिटर घिउ बिक्री गरिएको छ ।
हाल रञ्जित स्टिम चामल, सोना चामल, जापानी चामल, कर्णाली सिमी, केराउ दाना, मुसुरो र रहरको दाल अनलाइनमार्फत बिक्रीवितरण हुँदै आएको छ । कम्पनीले दैनिक ३ भ्यान मार्फत खाद्य पदार्थको अनलाइन बिक्री वितरण गर्दै आएको छ ।
काठमाडौँ उपत्यकाका बिक्री काउन्टर थापाथली, रामशाहपथ, नख्खु, लगनखेल र सूर्यविनायकबाट सेवा प्रदान गरिँदै आएको छ । प्रतिव्यक्ति २ हजारदेखि ५ हजारसम्मको खरिदमा १० प्रतिशत छुट दिइँदै आएको छ ।
अनलाइन मार्फत अर्डर गर्न नेपाल बैंक लिमिटेड र सेञ्चुरी बैंकको खल्ती वा इ–सेवा मार्फत ‘इ–पेमेन्ट’ गरेर सामान अर्डर गर्न सकिने व्यवस्था छ । कम्पनीले साल्ट ट्रेडिङ लिमिटेडसँग समन्वय गरी गहुँको पिठो र आयो नून तथा डिडिसीसँग समन्वय गरी शुद्ध घिउ बिक्री गर्दै आएको छ ।
यसअघि बिक्री गरिँदै आएको विद्युतीय चुलोलाई समेत बिक्रीमा राख्ने तयारी भएको प्रमुख कार्यकारी अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार वाल्ट्रा कम्पनीको इन्फ्रारेड चुलो खरीद गरी बिक्रीमा राख्ने कार्य अन्तिम चरणमा पुगेको छ ।
प्रकाशित मिति: सोमबार, असार १, २०७७