काठमाडौँ । नेता या नेतृत्वको मूल्यांकन संकटको घडिमा हुने गर्छ । जसले संकटको घडिमा समेत जनताको पक्षमा आफूलाई निरन्तर उभ्याउँछ, त्यो नै वास्तविक रुपमा जनताको नेता हुन्छ । सजिलोमा त जसले पनि आफूलाई नेताको रुपमा परिचित गराउँछ । तर आपतकालीन अवस्था आउँछ, जतिबेला सामान्य मानिस आफ्नो र आफ्न्तको जीवन रक्षाका लागि त्रासमा हुन्छन्, हो त्यसबेला त्यस्ता बेसहारा जनताको अभिभावक बनेर उभिने व्यक्ति नै वास्तविक रुपमा नेता हुने हो ।
यतिबेला विश्वव्यापी रुपमा कोरोना महामारीको कहर छ । यो महामारीले नेपाललाई पनि बिस्तारै गाँज्दै ल्याएको छ । मान्छेबाट मान्छेमा सर्ने यो संक्रमणको त्रासले सर्वसाधारण त आफ्नो घरभित्र बन्दी भएका छन् नै, समाजका अगुवाहरु पनि घरभित्रै लकडाउन भएका छन् । जनताको अपार मात पाएर जितेका जनप्रतिनिधिहरु पनि यस्तो बेलामा ढोका थुनेर घरभित्र बसी आफ्नो ज्यान बचाउने अभियानमा छन् ।
तर केही नेताहरु यस्ता छन्, जसले आफ्नो जीवनको परबाह नगरी जनताको जीवनको सुरक्षालाई आफ्नो पहिलो कर्तव्य सम्झिएर रातदिन जनताको सुरक्षामा आफूलाई व्यस्त गराइरहेका छन् । देशभित्र रहेका यस्तै नेतामध्येका एक हुन्– मोहनबहादुर बस्नेत । उसो त बस्नेत यसपटक न सत्तारुढ छन् न सांसद नै । तर उनका लागि जित्नु हार्नु या सत्तामा जानु नजानुले जनताको सेवा गर्ने कर्ममा कुनै कमी ल्याउँदैन । देशमा कम्युनिस्ट पार्टीको सरकार छ । बस्नेत प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय स्तरका नेता हुन् ।
गएको निर्वाचनमा सिन्धुपाल्चोकमा कम्युनिस्ट पार्टीका उम्मेदवारसँग पराजित भएका थिए उनी । कोरोनाको महामारी नेपालमा देखिनेबित्तिकै अन्य नेताहरु सरकारले तयारी नगरेको भन्दै सरकारको विरोध गर्न लागे । तर बस्नेतले कुन पार्टी सत्तामा छ या आफ्नो क्षेत्रको निर्वाचित सांसद को हो, उसले आफ्ना क्षेत्रका जनताका लागि के पूर्वतयारी गरेको छ, यदि छैन भने त्यसको विरोध कसरी गर्ने भन्ने परम्परावादी प्रतिपक्षी भूमिकातर्फ ध्यान दिएनन् । बरु बस्नेतको ध्यान सरकार र निर्वाचित सांसदले कोरोनाको पूर्वतयारीबारे कुनै कदम चाल्नुपूर्व नै कोरोनाबाट बच्ने पूर्वतयारीका स्वास्थ्य सामग्री बोकेर सिन्धुपाल्चोकका गाउँगाउँ पुग्नेतर्फ केन्द्रित भयो ।
सरकारी तवरबाट कहीँकतै कुनै पनि काम सुरु नहुँदै बस्नेतले विश्वभर आफ्नो सम्पर्कमा रहेकाहरुबाट स्वास्थ्य सामग्री मगाउँदै सिन्धुपाल्चोकमा वितरण गरे । सरकार आन्तरिक लकडाउन गरेर घर बसिरहेका बेला बस्नेत भने स्वास्थ्य सामग्री र राहत बोकेर सिन्धुपाल्चोक जिल्लाका गाउँगाउँमा पुगे । आफूले जनताको पक्षमा केही गर्न नसक्ने सत्तारुढ पार्टीकै नेताहरुलाई बस्नेतको सक्रियता बिझ्यो । बस्नेतलाई रोक्न उनीहरुले आफ्नो सत्ताको दुरुपयोग गर्न खोजे । सरकारी अवरोधका बाबजुद बस्नेत भने जनताको घरदैलोमा पुगेर कोरोनाबाट बच्न सक्ने स्वास्थ्य सामग्री बाँडिरहे । सायद उनको जनताप्रतिको यही जिम्मेवारी र चिन्ताले होला आज सिन्धुपाल्चोक जिल्लामा उनको पार्टीका मात्रै होइन, कम्युनिस्टका कार्यकर्तासमेत जनताको नेता उनी नै भएको भन्दै प्रशंसा गरिरहेका छन् ।
बस्नेतको सक्रियता यतिमै सीमित छैन । पहिलो चरणमा जिल्लाका प्रायः सबै क्षेत्रमा आफ्नै पहलमा स्वास्थ्य सामग्री वितरण गरिसकेपछि दोस्रो चरणमा अप्ठ्यारोमा परेका ती सिन्धुपाल्चोक हुन् या काठमाडौँमा बसोबास गरिरहेका सबैका लागि राहत लिएर घरघर पुगिरहेका छन् । त्यसो त बस्नेतको सक्रियता हरेक संकटको घडिमा सिन्धुपाल्चोकबासीले समान रुपमा देखिरहेका छन् । उनी निर्वाचित भएर जाऊन् या पराजित, संकटको घडिमा सधैँ जनतासँग पहिलो पटक पुग्ने गर्छन् । यसअघि जुरेमा गएको पहिरोबाट पीडित हुन् कि महाभूकम्पबाट प्रभावित जनता सबैको संकटको साथी उनी नै थिए ।
यही सक्रियताबीच उनले एउटा दुःखद समाचार सुन्नुपर्यो यो पटक । कोरोना माहामारीबाट पहिलो मृत्यु हुने महिला उनकै गाउँकी थिइन् । यो समाचारबाट उद्वेलित भएका बस्नेतले तत्काल मृतक महिलाको दुधे बालकको उद्धार र सम्पूर्ण शिक्षादीक्षाको व्यवस्था गर्ने घोषणा गरेका छन् । संकटको यो घडिमा सहारा बनेर अघि बढ्ने उनको यो कदमको देशभित्र मात्रै होइन, सारा संसारका नेपालीहरुले प्रशंसा गरिरहेका छन् ।
कोरोना महामारी आरम्भ भएयता उनै कांग्रेस नेता एंव पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको सक्रियाबारे आजको न्युजले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ बस्नेतसँग गरिएको कुराकानीः
कोरोना महामारीबाट पहिलो मृत्यु तपाईंकै जिल्लामा भयो ? तपाईंले मृतकको दुधे बालकलाई सहयोग गर्ने पनि घोषणा गर्नुभएको छ । कस्तो सहयोग गर्न खोज्नुभएको ?
हो तपाईले ठिकै भन्नुभयो । यो दुःखद घटना हाम्रो जिल्लामा भयो । देशको सबैभन्दा विश्वसनीय अस्पतालमा डेलिभरी गरेको महिलामा त्यो संक्रमण जसरी भयो त्यो दुःखद छ । वास्तवमा शिक्षण अस्पतालले नै यो बेलामा उनको समयमै कोरोना परीक्षण गरेर सावधानी अपनाएको भए यो दुघर्टना हुने थिएन कि । अब चिकित्सकहरुले आफ्ना सबै निष्कर्ष निकालिसकेका छन्, उनको मृत्यु कोरोनाबाट्रै भएको हो भन्ने कुरा ।
अब जहाँसम्म मृतकको बच्चालाई पढाउने र पोषणका लागि सहयोग गर्ने विषय छ । त्यो विषय वास्तवमा मेरो तर्फबाट गरिएको पहिलो घटना होइन । यतिबेला कोरोनाका कारण पहिलो मृत्यु भएका कारण हामीले गरेको सहयोगका बारेमा यतिका चर्चा र प्रशंसा भयो । देशविदेशबाट यसबारे चासो भयो । वास्तवमा यो चासो र चर्चामा आइरहनुपर्ने विषय होइन । म त्यस जिल्लाबाट पटकपटक प्रतिनिधिका रुपमा निर्वाचित भएको जनप्रतिनिधि हुँ । मेरो त यो काम नै हो । आफ्नो जिम्मेवारी अन्र्तगत नै मैले यो सहयोगको घोषणा गरेको हो । मैले व्यक्तिगत रुपमा बच्चालाई पोषणका लागि ५० हजार रुपैयाँ नगद दिने र १२ कक्षासम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउने घोषणा गरेको छु । मैले घोषणा गर्नेबित्तिकै वास्तवमा स्वदेश विदेशबाट यस कार्यमा सहकार्य गर्छु भन्नेहरु अगाडि आउनु भएको छ ।
कोरोनाबाट मृत्यु हुने व्यक्तिको परिवारलाई हामीले यसकारणले पनि सहयोग गरेका छौँ कि भोलि कोरोनाको महामारीको विकराल अवस्था पनि नेपालमा आउन सक्छ । हामी नेपाली एक अर्काका दुःख सुखमा मिलेर बस्ने जाति हौँ । भोलि यस्ता घटना अरु पनि बारम्बार दोहोरिन सक्छन् । यस्तो बेला दुःखमा रहेको परिवारलाई हामी जहाँ छौँ, जसले सक्छौँ सबैले सहयोग गर्नुपर्छ । हामीले यस कार्यको सुरुआत गरेका छौँ । भोलि यस्तो घटनाको बेला सबैले आफ्नो आफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि हामीले यो सहयोग गर्ने निर्णय गरेका हौँ ।
एउटा अर्को कुरा के भने कोरोनाको कारण पहिलो मृत्यु भएकाको परिवार भएका कारण मिडियामा आयो । तर खासगरी मैले यसरी सहयोग गर्ने र बालबच्चा पढाउने काम लामो समयदेखि गर्दै आएको छु । २०४१ सालदेखि नै सिन्धुपाल्चोक जिल्लामा विद्यार्थीहरुलाई आफ्नै खर्चमा कोचिङ सञ्चालन गर्ने काम गरेको हो । यो काम हामीले ३१ वर्षसम्म गर्यौँ । यस्तै खर्च नभएकाहरुलाई आफ्नै खर्चमा पढाउने काम पनि हामील गरिरहेका छौँ । जिल्लाका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएर विज्ञान विषयमा पनि पढाउने काम हामीले गरिरहेका छौँ ।
मेरी श्रीमतीको नाममा रहेको नेपाल वेलफेयर सोसाइटी भन्ने संस्था पनि छ । त्यो संस्थाका माध्यमबाट पनि दर्जनौँ विद्यार्थीलाई हामीले सरकारी र बोर्डिङ स्कुलमा छात्रवृत्ति उपलब्ध गराएर पढाउने काम गरिरहेका छौँ । यो क्रम निरन्तर चलिरहेको छ । म राजनीतिक मान्छे हुँ । जनताको दुःखसुखमा सधैँ साथै रहने प्रयास गरिरहेको छु । यसपटक पनि मैले आफ्नो दायित्व र जिम्मेवारी सम्झिएर काम गरेको हो ।
कोरोना महामारीका बेला सिन्धुपाल्चोक जिल्लामा कसरी सहयोग पुर्याइरहनुभएको छ ?
हो अहिले कोरोनाबाट मृत्यु भएकी महिलाको परिवारलाई सहयोग गर्ने जे काम गरिएको छ हामीले यो काम एक्कासी गरिएको होइन । हामी कोरोना कहर सुरु नहुँदै जनताको बीचमा गइरहेका छौँ । चीनमा कोरोनाको महामारी बढ्दै गएका समाचार हामीले पढ्यौँ । त्यो समाचार देख्नेबित्तिकै मेरा मनमा के कुरा आयो भने, सिन्धुपाल्चोक जिल्ला उत्तरी बोर्डरको जिल्ला हो । चीनसँग सीमा जोडिएको जिल्ला भएका कारण यहाँ अन्यत्रको तुलनामा बढी समस्या आउन सक्छ भन्ने लाग्यो । त्यसपछि मैले जनताको बीचमा जानुपर्छ र पूर्वतयारीका सामग्री जे जति सकिन्छ त्यो सहयोग गर्नुपर्छ भन्ने सोचेँ ।
देश विदेशमा रहेका स्वास्थ्य सामग्री उत्पादन गर्ने मानिसहरुसँग सम्पर्क गरी पिपिई, एन ९५ मास्क लगायतका सामग्री संकलन गर्ने काम गर्यौँ । त्यसपछि जिल्लाभित्र रहेका जिल्ला अस्पतालदेखि स्वास्थ्य, उपस्वास्थ्य चौकी र तलका हेल्थ डेस्कसम्म ती सामग्री बाँड्ने काम गर्यौँ । जबकि सरकारले त्यसबारे केही काम नगरेको बेला हामीले त्यो गरेका हौँ । जतिबेला काठमाडौँका ठुलाठुला अस्पतालले त्यस्ता सामग्री पाएका थिएनन्, त्यही बेला उत्तरी हिमालको काखमा रहेका दुर्गमका स्वास्थ्य चौकीले ती स्वास्थ्य सामग्री पाइसकेका थिए ।
हामीले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र फ्रन्टलाइनमा रहने सबैलाई ती सामग्री उपलब्ध गरायौँ । तर बिडम्बना के भने आफूले केही नगर्ने सरकार पक्षीय राजनीतिक पार्टीका नेताहरु मैले जनताको दुःखमा गरेको सहकार्यबाट अत्तालिएर मलाई स्वास्थ्य सामग्री उपलब्ध गराउने व्यवसायीलाई धम्क्याउने काममा लागे । त्यतिमात्रै होइन उनीहरुले मेरा विरुद्ध लकडाउन उल्लंघन गरेको आरोप लगाउँदै सिडिओमा उजुरी गर्नेसम्मको काम गरे । हामीले सरकारी अवरोधका बीच पनि स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री बाँड्नेदेखि जनताको घरदैलोमा जाने काम गर्यौँ ।
कोरोनाबाट जनताको जिउधनको सुरक्षा गर्नका लागि आफू जेल बस्नुपरे पनि परोस् भन्दै मैले त्यो काम गरिरहेको थिएँ । जनतालाई आफू साथ दिन नसक्ने तर मैले गरेको काम देख्न नसक्नेहरुको अवरोधका बीच हामीले लगातार १५ दिनसम्म ती सामग्री बाँड्यौँ । तर पछि सरकारले हामी गर्छौं भनेर निरन्तर रोक्न खोजेपछि त्यो काम स्थगित गरेको हो । तर त्यसपछि पनि हामी निरन्तर जनताको बीचमै उहाँहरुको अप्ठ्यारोमा हरतरहले साथ दिइरहेका छौँ ।
अब कसरी सहयोग गर्ने सोचिरहनु भएको छ ?
हामीले गरिरहेको काम रोकेर जनतालाई सरकारले सहयोग गर्छ भनेकाहरुले अहिलेसम्म पनि जनताको पक्षमा कुनै निर्णय लिएको हामीले देखेका छैनौँ । हामीले फ्रन्टलाइनमा खटिनेहरुलाई स्वास्थ्य सामग्री बाँड्दा लकडाउन उल्लंघनको अरोप लगाउने सत्तारुढ दलका नेता कार्यकर्ताहरु जब कोरोनाबाट महिलाको मृत्यु भयो र त्यो गाउँ सिल गरिएको थियो त्यस्तो बेला चाहिँ लावालस्कर लागेर गएको देखियो । त्यतिका लावालस्कर त्यहाँ जाँदा पनि मृतकका परिवारलाई सान्त्वना दिनेबारेमा कुनै पनि प्रकारको राहत सरकारका तर्फबाट वा सरकार पक्षीयहरुबाट भएन । यो सरकार या भनौँ सरकार पक्षीय दलका नेताहरु यति जनविरोधी छन् कि न उनीहरु आफू जनताका लागि केही गर्छन्, न हामीले गरेको सहन्छन् । यस्तो उदेकलाग्दो अवस्था हामीले देखिरहेका छौ । अब हामी फेरि जनतालाई कसरी सहयोग गर्ने भन्नेबारेमा सोचिरहेका छौँ ।
फेरि अपुग स्वास्थ्य सामग्री जम्मा गर्ने काम भइरहेको छ । फेरि हामी ती सामग्रीका साथ जनताको बीचमा पुग्छौँ । यो सरकारको भर परेर बस्ने अवस्था छैन । उनीहरुको मात्रै भर पर्ने हो भने जनताको अवस्था नाजुक हुने मैले देखिरहेको छु ।
राष्ट्रपति र प्रधानमन्त्रीले घरभित्र सुरक्षित रहनुहोस् भन्दै टेलिभिजनमा भाषण गरेर आफू झुलभित्र बस्ने अनि जनतालाई बेवास्ता गर्ने काम भइररहेको छ । हामी राजनीतिक कार्यकर्ता हौँ । जनताको सुखदुखमा हामीले साथ दिने हो । सुरक्षित रहनुहोस् भनेर सन्देश दिएर हाम्रो काम र जिम्मेवारी सकिँदैन । सरकारको ढिलासुस्ती र कुशासन तपाईंहरु सबैले देखिरहनु भएको छ । स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार गर्नेहरुले जनताको सुरक्षा गर्लान् भनेर विश्वास गर्ने आधार छैन ।
देशलाई यतिका दिनसम्म लकडाउनमा राखेर न क्वारेन्टाइन बनाइएको छ न आवश्यक स्वास्थ्य सामग्री ल्याउने काम भएको छ । पहिलो कुरा त क्वारेन्टाइन छैन, जहाँ छन् त्यहाँ लामखुट्टे आतंकले जनतालाई सास्ती भइरहेको छ । आफू सुरक्षित भएर झुलभित्र सुत्ने अनि जनतालाई मच्छरले टोकाउने काम प्रधानमन्त्री र राष्ट्रपतिले गरिरहेका छन् । अन्य देशका राष्ट्रपति र प्रधानमन्त्री हेरिरहनुभएको होला नि जनताको बीचमा गइरहेका छन् । हामीकहाँ सुरक्षित रहनुहोस् भन्दै सन्देश दिएर आफू सुतेर बस्ने काम भइहेको छ । सकिँदैन भने सक्नेहरुलाई छोडिदिनुपर्यो तर जनताको त ख्याल गर्नुपर्यो नि ?
हेर्नुहोस् यो सरकारले गरिरहेको अराजकता र चलाइरहेको कुशासनका बारेमा भनिसाध्य छैन । जनता कोरोनाको त्रासले मरिरहेका बेला प्रधानमन्त्री चाहिँ सांसद अपहरण गरेर पार्टी फुटाउने खेलमा लागिरहेका छन् । मन्त्रीहरु नै भ्रष्टचारको काण्डमा संलग्न भएर पदबाट बाहिरिएका छन् । जनता छिमेकी देशको बोर्डरमा रुवाबासी गरिरहेका छन् । लाखौँ जनता उद्धारको आशमा नेपाल नेपाल भनेर विदेशी भूमिमा अपमान सहेर बसिरहेका छन् तर सरकारका मान्छेहरुलाइ कुनै जिम्मेवारी छैन । कोरोनाबारे सरकारको तयारी अत्यन्तै निम्छरो र दयालाग्दो छ । यस्तो बेला उनीहरुको आशमा मात्रे बस्ने हो भने जनतालाई निकै सास्ती हुने हो । यो सरकारको अकर्मण्यता र कुशासनबारे अर्को लामै शृंखला होला । आज यति भनौँ सरकारको आशमा बस्न सकिने अवस्था छैन । हामी राजनीतिकर्मी हौँ, जनतालाई समस्या परेको बेला चुकुल लगाएर घरभित्र बस्न सकिँदैन । त्यसैले हामी जनताको बीचमा सामग्रीसहित फेरि जाने छौँ ।
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७