काठमाडौं । सरकारले मंगलबारसम्म १२ हजार ६ सय ९ जनाकाे कोरोना परीक्षण गरिएको जनाएको छ । परीक्षण गरिएकामध्ये हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्यापिड टेस्ट गरी परीक्षण गरिएको बताए । उनले २१ जिल्लामा मात्रै कोरोनाको आरडिटी किटबाट परीक्षण हुन बाँकी रहेको बताए ।
अहिले देशैंभरका २१ जिल्ला बाहेकमा आरडिटी विधिबाट कोभिड १९ को परीक्षण सुरु भएको छ। प्रवक्ता देवकोटाले भने, ‘परिक्षणको दायरा बढिरहेको छ। हामीले मुख्य गरी विदेशबाट आएकाहरूको परीक्षण आरडिटीबाट गर्ने निति लिएका छौं ।’
उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ हजार ४ सय ४८ जनाले नाम दर्ता गराएका छन् । ५ हजार ७ सय ७१ क्वारेन्टाइनमा र आइसोलेसनमा ९९ जना छन् ।
हालसम्म भेटिएका संक्रमितको कन्ट्याक्ट ट्रेसिङ पनि सुरु गरिएको उनले बताए । उनले भने, ‘सोमबार र मंगलबार भेटिएका सबै संक्रमितको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ। मुख्यगरी आरडिटी परीक्षणलाई विदेशबाट नेपाल आएका र उनीहरूको सम्पर्कमा रहेकाहरूको गरिने नीति लिएका छौं ।’
यसैगरी हालसम्म नेपालमा भेटिएका कोरोना संक्रमितहरुको स्वास्थ्य सामान्य रहेको पनि प्रवक्ता डा. देवकोटाले जानकारी गराएका छन् ।
उनका अनुसार काठमाडौंको टेकु अस्पतालमा २ जना, पाटन अस्पतालमा २ जना, बागलुङस्थित धौलागिरी अञ्चल अस्पतालमा २ जना, सुदूरपश्चिम प्रदेशको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ४ जना, र वीरगन्जस्थित नारायणी अस्पतालमा ४ जना संक्रमितको उपचार भइरहेको छ ।
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७