एजेन्सी । साउदी अरब नेतृत्वको सेनाले गरेको हवाई आक्रमणमा परी यमनमा पछिल्लो समयमा सय जना मारिएको रेडक्रसको अन्तर्राष्ट्रिय समितिले जनाएको छ ।
हुथी विद्रोहीहरुले ड्रोन र मिसाइलहरु संकलन गरे राखेको सूचनाका आधारमा गठबन्धन सेनाले उक्त स्थानमा आक्रमण गरेको थियो । हुथी विद्रोहीका अनुसार विद्रोहीहरुले कारागारको रुपमा उपयोग गर्दै आइरहेको भवनमा आक्रमण भएको हो ।
संयुक्त राष्ट्रसंघीय अधिकारीहरुले घटनामा परी कम्तीमा ५२ जना मारिएको शव नै भेटिएको र अरु ६८ जना हराइरहेको जनाएका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दामरस क्षेत्रमा औषधि तथा अन्य सहयोग सामग्रीसहितको टोली पठाइएको बताएको छ ।
अहिले आक्रमण भएको क्षेत्रमा आइसिआरसीको टोलीले यसअघि नै स्थलगत अध्ययन भ्रमण गरिसकेको थियो , यमनका लागि आइसिआरसीले खटाएको टोलीका प्रमुख फ्रान्ज रौचेन्स्तैनले भने ।
उनले भने, कारागारमा आक्रमण हुनु यसको सबैभन्दा नराम्रो पक्ष हो, यसका लागि अन्तर्राष्ट्रिय कानुन आकर्षित हुन्छ ।
रौचेन्स्तैनले एक सयभन्दा बढीको मृत्यु भएको अनुमान गरिएको जानकारी दिए । उनका अनुसार अरु ४० जनालाई घाइते अवस्थामा अस्पतालमा उपचार गराइएको छ ।
घटनास्थलबाट आइसिआरसीको टोलीले शवहरु संकलन गरेको थियो ।
प्रकाशित मिति: सोमबार, भदौ १६, २०७६