दुवै मृगौला काम नगरेपछि उपचार गराइरहेका वालिङ नगरपालिका–९ निवासी खुमबहादुर गुरुङलाई शनिबार सहयोग रकम हस्तान्तरण गरिएको छ ।
वालिङ बहुमुखी क्याम्पसका प्राध्यापकसमेत रहनुभएका गुरुङको उपचारमा सहयोग पुर्याउने उद्देश्यले वालिङ बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख रीना रानाको संयोजकत्वमा सहयोग रकम सङ्कलन समिति निर्माण गरेर क्याम्पसले चलाएको अभियानमा सङ्कलित रकम रु २४ लाख ७४ हजार ९२७ प्राध्यापक खुमबहादुर गुरुङलाई हस्तान्तरण गरिएको हो ।
सहयोग हस्तान्तरण कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्य एवं क्याम्पस सञ्चालक समितिका अध्यक्ष मोहनप्रसाद रेग्मीले गुरुङको उपचारका लागि सहयोग गर्ने प्राध्यापक, विद्यार्थी, समाजसेवी सबैलाई धन्यवाद दिँदै क्याम्पसको तर्फबाट पनि समितिको बैठक बसेर सहयोग गर्ने बताउँदै गुरुङको स्वास्थ्यलाभको कामना समेत गरे ।
गुरुङ थप उपचारका लागि भारत जाने तयारीमा रहेका बेला सहयोग रकम हस्तान्तरण गरिएको हो । उहनको उपचारका लागि सहयोग रकम सङ्कलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै सञ्चारकर्मी टिकराज गुरुङलाई क्याम्पसले सम्मान गरेको छ ।
मृगौला पीडित प्राध्यापक खुमबहादुर गुरुङको उपचारको सहयोगका लागि टिकराज गुरुङले देशविदेशमा रहेकाहरूबाट रु १३ लाख ५३ हजार ६०८ सङ्कलन गरेका थिए
प्रकाशित मिति: आइतबार, असार १, २०७६