विश्वराज पोखरेल
फेरिँदो क्राइम ट्रेन्ड
पछिल्लो समयमा सामाजिक तथा पारिवारिक अपराध बढेको छ । हामीले अपराध नियन्त्रण गर्ने कुुरामा निकै फड्को मार्यौं । पहिले सांगठनिक हिसाबले जुन किसिमको अपराध हुन्थ्यो । त्यो अपराधलाई शून्य जस्तै तुल्याएका छौँ । निस्तेज नै गरिसकेका छौँ । तर यस्ता अपराध निस्तेज भइसक्दा पनि अपराधको ग्राफ चाहिँ बढिरहेको छ ।
हेर्नुहाेस् भिडियाेः
केही समययता पारिवारिक हिंसा बढिरहेको छ । पारिवारिक हिंसा बढ्दै जाँदा आफन्तभित्रै कर्तव्य ज्यानका घटना भइरहेका छन् । एकले अर्कोलाई मारेका घटना बढ्दै छन् ।
त्यस्तै नातागोता, परिवारभित्रै रेपका घटनाहरू अविश्वसनीय ढंगले बढेका छन् । प्रहरीले मात्रै त्यसलाई रोकथाम गर्न सक्ने अवस्था छैन । यसलाई रोकथाम गर्नका लागि समुदायलाई नै सचेत गराएर लैजानुपर्ने जरुरी हुन्छ । यस कुरालाई मध्यनजर गरेर हामीले वर्तमान संगठन प्रमुखको नेतृत्वमा २०७५ कात्तिक महिनादेखि समुदाय प्रहरी साझेदारी कार्यक्रम सुरु गरेका छौँ । यस अन्तर्गत टोलटोलमा समूहहरू गठन भएका छन् ।
यस्ता समिति गठन भएर काम कार्बाही थालेपछि यस्ता अपराध नियन्त्रणमा सहयोग र सपोर्ट भइरहेको छ । सूचनाहरू पनि आइरहेका छन् । यही हिसाबले नागरिकलाई संगठित गरेर हामीसँग हातेमालो गरेर लैजान सक्यौँ भने भोलिका दिनमा यो कार्यक्रमले एकखालको उपलब्धि हासिल गर्ने देखिन्छ ।
यस्ता छन् समाजिक घटनाका कारण
यस्ता घटनाका पछाडि भिन्नभिन्न ठाउँमा भिन्न कारण छन् । कतिपय ठाउँमा मानसिक सन्तुलन गुमाएर आफ्नै छोराछोरीको हत्या गरेको, श्रीमानले श्रीमती छाडेको र विपन्नताका कारण बालबच्चा मारिएको, श्रीमानले श्रीमतीलाई दाइजो नल्याएको भनेर मारेको देखिन्छ । परिवारमा झैझगडा अन्तरद्वन्द्व हुन्छ, त्यसको चरम नतिजा चाहिँ हत्या रहेछ ।
गरिबी, अंशबण्डा लगायतका कारण पनि हत्या भएको देखिन्छ । कुनै डिजाइन, मनसाय राखेर भन्दा पनि आवेशमा आएर झगडा बढ्दै गएर एउटा रेखा पार गरेपछि घटनामा परिणत हुने देखिन्छ ।
घटना हेर्दा फरकफरक प्रकृतिका छन् । तर परिवार, नातागोता, आफन्तभित्रै यस्ता घटना बढिरहेका छन् ।
रेपका घटना पनि परिवारभित्रै बढी छ । ३०/४० प्रतिशत रेप परिवारभित्र भएका छन् । बाबुबाट छोरीको, दाजुबाट बहिनीको, नजिकैको नाताभित्र, चिनजानको व्यक्तिबाटै रेप ! विश्वास नै गर्न नसकिने । त्यहाँ गएर प्रहरीले पनि काम नै गर्न सकिने अवस्था पनि छैन । जसका लागि चेतना चाहिन्छ । परिवारभित्रै यो कुराको संश्लेषण, विश्लेषण हुन जरुरी छ ।
अपराधभित्रको लगभग ३० प्रतिशत घटना परिवारभित्रै भइरहेका छन् । दिनमा १५/१६ जनाले आत्महत्या गर्छन् । आत्महत्याका घटानालाई हेर्ने हो भने सुरक्षा भन्ने विषय प्रहरीसँग मात्र नभएर उसको स्वास्थ्य, अर्थ, बसोबाससँग पनि रहेछ भन्ने कुरा हेर्नुपर्ने जरुरी भइसकेको छ । हरेक नागरिकको शिक्षा, स्वाथ्य, बसोबासलगायतलाई जोडेर सुरक्षालाई एकीकृत रूपले अघि लैजान सक्यौँ भने यी सबै घटनामा कमी आउँछ ।
डरलाग्दो चुनौती बन्दै साइबर क्राइम
साइबर क्राइम चुनौतीको विषय हो । यसले धेरै प्रकारका अपराधको सिर्जना गरेको छ । यसले मानिसको ज्यान गुमाउने स्थितिसम्म पुर्याएको छ । सामाजिक सञ्जालले मानिसमा एक किसिमको सम्बन्ध र पहिचानमा निकटता त ल्यायो । तर यसको दुरूपयोगले सामाजिक सञ्जालले स्थापित गरेको विश्वास अविश्वास, धोकामा परिणत हुँदा त्यसले घटनाको रूप लिएको देखिन्छ ।
एक समयमा भएको राम्रो सम्बन्ध बिग्रियो, तोडियो अथवा त्यो सम्बन्धमा बसिरहन कुनै पक्षलाई गाह्रो भयो भने त्यतिखेरको सम्बन्ध रेकर्डेड रूपमा राखेर सामाजिक सञ्जालमा भाइरल गरिदिन्छु भन्दै ब्लाकमेल गर्ने । कतिपय अवस्थामा सामाजिक सञ्जालमा राखिदिने पनि ।
वास्तवमा सामाजिक सञ्जालमा जुन अनुशासनहीनता देखिएको छ । जुन किसिमले सामाजिक सञ्जालको दुरूपयोग भएको छ । सुविधाको नाममा निहीत स्वार्थ केन्द्रित भएको देखिन्छ, यही स्थिति रह्यो भने साइबर क्राइम भोलि ठूलो चुनौती बन्ने देखिन्छ ।
यसका लागि कानुनी कार्बाही पनि कमजोर छैन । यसमा अनुसन्धान प्रक्रिया चाहिँ अलिक जटिल छ । यसमा हामी नागरिक पनि अलिक सचेत छैनौँ । उजुरी हाल्ने र कार्बाही गर्ने विषयमा तत्परता देखाउँदैनौँ । अन्तिममा आएपछि अर्थात् जीवन या मृत्यु रोज्नुपर्ने अवस्थापछि जीवन नै रोज्ने भनेर कानुनी कार्बाहीको प्रक्रियामा आएको देखिन्छ ।
तथापि अहिले बिस्तारै यस्ता घटना बाहिर आउन थालेका छन् । हामीले यस्तो किसिमको अपराध गर्नेलाई कठोर सजाय दिन सकेनौँ भने समस्या ज्यूँका त्यूँ रहन्छ ।
हाम्रो धर्म संकृति र मूल्यमान्यता जे हो त्योभन्दा सयौँ गुणा खतरनाक समाजिक सञ्जालले ल्याएको चुनौती हो यो । त्यसैले हामीले यसलाई गम्भीर प्रकृतिको अपराधको रूपमा लिएर छुट्टै साइबर ब्युरो पनि खडा गरेका छौँ ।
साइबर क्राइमको न्यायिक फैसला गर्ने अधिकार काठमाडौं जिल्ला अदालतलाई मात्र छ । बाहिरका मुद्दा पनि यहीँ आउनुपर्छ । त्यसले गर्दा पनि समाजिक सञ्जालबाट प्रताडित भएका मानिसहरू यहाँ आइपुग्न कठिन भएकाले पनि प्रताडित नै छन् ।
कमसेकम यो अधिकारलाई प्रदेश प्रदेशमा पुर्याउन सक्यौँ भने पनि त्यसले धेरै सम्बोधन गर्छ । तर कार्बाहीको दायरमा ल्याउन सकेनौँ भने उनीहरूको मनोबल बढिराख्छ । त्यसको अन्त्य गर्नु जरुरी छ ।
प्रभावकारी छ समुदाय प्रहरी साझेदारी कार्यक्रम
समुदाय प्रहरी साझेदारी कार्यक्रम धेरै अध्ययन गरेर ल्याएका हौँ । विगतमा भएका कार्यक्रमहरूले गरेका उपलब्धि ग्रहण गर्दै यो किसिमको कार्यक्रम लैजान सकियो भने अहिले बढिरहेको सामाजिक अपराध, पारिवारिक अपराधलगायतका अपराधसँग प्रहरीले लड्नुपर्दाको चुनौतीलाई समेत ठूलो राहत मिल्छ भन्ने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो । यो कार्यक्रम बिस्तार भएर १९ हजारभन्दा बढी समितिहरू गठन भइसकेका छन् ।
यो कार्यक्रमको विस्तारपछि जनतामा सुरक्षा भनेको साझा विषय रहेछ, प्रहरीको मात्रै होइन, हाम्रो पनि साझा सरोकारको विषय रहेछ भन्ने बुझाइमा वृद्धि भएको छ । यसले गर्दा पनि हामीलाई ठूलो सपोर्ट भइरहेको छ । घर–घर, समाजमा भएका अपराधका सूचना आउन थालेको छ । यसले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेखनीय मद्दत गरेको छ । शान्ति सुरक्षा कायम गर्ने, अपराध रोकथाम, नियन्त्रण गर्ने कुरामा जहाँ उनीहरूकै सदस्य खटिएपछि अपराध हुँदैन भन्ने हाम्रो मान्यता छ ।
गुण्डा भन्ने शब्द हटाइदिए हुन्छ
नेपालमा गुण्डा भन्ने शब्द हटाइदिए पनि हुने अवस्था छ । किनभने विगतमा गुण्डाहरूले तर्साएर धम्क्याएर व्यवसायीहरूसँग चन्दा उठाएको, डर त्रासमा पारेको घटना सुनिन्थे । तर अहिले गुण्डाहरूबाट तर्सिनुपर्यो, गुण्डाहरूका कारणले काम गर्न पाइनँ, चन्दा दिनुपर्यो भन्ने सूचना हामीसँग छैन । गुण्डाहरूको विषयमा प्रहरी निदर्यीपूर्वक प्रस्तुत भइरहेको छ । कसैले त्यस्तो क्रियाकलाप गरेको पाइएमा त्यसलाई कडाभन्दा कडा कानुनी दायरमा ल्याएर कार्बाही गर्छौँ ।
अन्त्यमा,
एउटा हिस्साबाट जहिल्यै पनि प्रहरीको कमीकमजोरी खोज्ने, प्रहरीलाई आलोचनामा पार्ने प्रयास हुन्छ । त्यसलाई चिर्नु जरुरी छ । र आम नागरिकलाई के भन्न चाहन्छु भने प्रहरीले सशक्त, व्यावसायिक, इमान्दारपूर्वक काम गर्न सक्दा, प्रहरीलाई त्यो वातावरण मिल्दा मात्रै यहाँहरूको हकअधिकार सुरक्षित हुन्छ ।
तपाईंहरूले व्यापार व्यवसाय गर्ने, कानुनी हक, मानवअधिकार लगायतका कुराहरूको प्रयोग गर्ने अवस्था प्रहरीले सिर्जना गर्ने हो । त्यो वातावरण प्रहरीले दिने हो । त्यसैले प्रहरीलाई हरतर्फबाट सहयोग गरौँ । शंका, अविश्वासभन्दा पनि रचनात्मक ढंगले सहयोग गरेर त्यो भित्र शुद्धीकरण गरौँ । हामी प्रहरीभित्र पनि शुद्धीकरणको अभियानमा छौँ ।
(प्रहरी प्रधान कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी डिआईजी विश्वराज पाेखरेलसँग आजकाे न्युजकर्मी कुञ्जरमणि भट्टराईले गरेकाे कुराकानीका आधारमा)
प्रकाशित मिति: बिहीबार, जेठ २३, २०७६