काठमाडौं : नेपाली समाजमा जागिर खानेहरूको स्थान नै अलि छुटै हुन्छ भन्ने विश्वास रहिआएको छ । जागिरले समाजमा एक किसिमको इज्जत र मान दिन्छ भन्ने कुरा पनि पढेलेखेका व्यक्तिहरूको दिमागबाट निस्कन सकेको छैन ।
त्यसैले होला प्रायः पढेलेखेका व्यक्तिहरू आफूले अध्ययन गरेको प्रमाणपत्र र अनुभवका ढड्डाहरू साथमा बोकेर विभिन्न कार्यालयहरू धाउने गरेको पाइएको छ । अझ गैरसरकारी संस्थामा जागिर गर्नेको त लहड नै चलिरहेको छ । तर सबै व्यक्तिलाई जागिर नै मन पर्छ भन्ने पनि हुन्न । कतिलाई छुटै पेसामा संलग्न भई आफ्नो चाहनाअनुसारको व्यवसाय गरी आफ्नै शैलीले जीवन चलाउने इच्छा हुन्छ । यस्तै चाहनाले डडेल्धुराकी कान्ति जोशीले पनि ब्युटी पार्लर व्यवसाय सञ्चालन गर्दै आईरहेकी छिन् ।
एनजीओ/आइएजीओमा काम गरेकी डडेल्धुराकी कान्ति जोशीले आफ्नो जागिर छाडेर ब्युटीपार्लर व्यवसाय सुरु गरेको एक वर्ष भइसकेको छ । एक वर्षको बीचमा उनले जागिर र व्यवसायबीच धेरै अन्तर रहेको पनि महसुुस गरेकी छिन् ।
श्रीमान्को प्रेरणाले आफूले यो व्यवसाय सुरु गरेको उनी बताउँछिन् । साथै आफ्नो परिवारका अन्य सदस्यहरूको पनि महत्वपूर्ण भूमिका रहेकाले अझ व्यवसायमा सफलता मिलेको उनको अनुभव छ ।
डडेल्धुरा सदरमुकामको तुफानडाँडास्थित ब्युटी पार्लर व्यवसायबाट उनले दैनिक दुई हजार रुपैयाँभन्दा बढी आम्दानी गर्छिन् । उनको घरखर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी बचत हुन्छ ।
‘महिनाको यति नै कमाइ हुन्छ भन्ने त छैन । तर पनि, मैले मासिक २५ देखि ३० हजारसम्म बचत गर्ने गरेकी छु’, उनले भनिन्, ‘घरायसी खर्च पनि यसैबाट चलाएकी छु । बच्चाहरूको स्कुल खर्च पनि धानेकी छु ।
जागिर र व्यवसायमा आकाश जमिनको फरक रहेको बताउँदै उनले भनिन्, जागिर गर्दा १५/२० हजारका लागि महिनौं कुर्नुपर्छ तर, व्यवसाय गर्दा ५/६ हजार एक दिनमै कमाउन सकिन्छ ।’
उनले थपिन्, व्यापार र जागिरमा धेरै फरक छ । व्यापार गर्दै जाने हो भने जागिर त सामान्य झैँ लाग्छ । आफूलाई आजभोलि व्यापार गर्दै जाँदा जागिर गर्नु समय खेर फाल्नु जस्तै लाग्न थालेको उनी सुनाउँछिन् ।
महिला भएका कारण व्यापारमा केही चुनौति भए पनि आफू सक्षम र बाठो हुनुपर्छ भन्ने उनको तर्क छ । उनले भनिन्, महिलालाई बाहिर हिँड्न पनि समस्या हुन्छ, पुरुषहरूले त्यसै पनि हेप्न खोजिरहेका हुन्छन्, अझ सुदूरपश्चिमेली समाजमा महिलालाई व्यापार व्यवसाय गर्न कठिन त हुन्छ नै ।
यो पसल गर्नुभन्दा पहिले म आफैं सानोतिनो जागिर गर्थें, महिनाको २२/२५ हजार रुपैयाँ कमाउँथे, उनले भनिन्, यो व्यवसाय सञ्चालन गर्न श्रीमान्बाट पनि केही पैसा लिएकी छु ।
प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उनी २०६२ सालमा पढाइको सिलसिलामा नेपालगन्ज गइन् । उतै ६ महिना ब्युटीसियन तालिम लिइन् । परिवारसँगै सल्लाह गरेर सीप सिकेका हुन् । यो सीप सिक्ने अवसर मलाई मेरा दाजुभाउजू र आमाबुबाले दिनुभएको हो , उनले भनिन् ।
परिवारका सदस्य र श्रीमान्ले एनजीओको जागिरले केही पनि हुँदैन भनेपछि आफूले यो व्यवसायमा हात हालेको उनी स्मरण गर्छिन् । पहिला जागिर गर्दा जम्मा गरेको पैसा र श्रीमान्को पैसाले सो व्यवसाय सुरु गरेको उनी बताउँछिन् ।
उनले ब्युटी पार्लरका लागि सामानहरू धनगढी, काठमाडौं र भारतको राजधानी नयाँ दिल्लीबाट ल्याउने गरेकी छन् ।
जागिरभन्दा पसलबाट घरपरिवार सन्तुष्ट भएको उनले सुनाइन् । भनिन्, मभन्दा पनि उहाँ नै खुसी हुनुहुन्छ । राम्रो आम्दानी र घरपरिवारसँगै बसेर व्यवसाय गर्न पाउँदा त मभन्दा खुसी त उहाँ नै हुनुहुन्छ ।
सुन्दर रहन सबैलाई मन पर्छ । त्यसैले सौन्दर्यले सबैलाई आकर्षित गर्छ । अहिले आएर महिला मात्र नभई पुरुष पनि पार्लर जान थालेका छन् । आर्थिक सम्पन्नतासँगै ब्युटीपार्लरमै गएर ब्युटी बन्ने महिला–पुरुषको सोखले पार्लर व्यवसाय फस्टाएको छ ।
कम लगानी, छोटो तालिम, व्यवसाय सुरु गर्दा मनग्य आम्दानी हुने भएपछि यसप्रति धेरैकोे आकर्षण बढेको हो । यसले महिलामा उद्यमशीलता पनि बढाएको छ । यो व्यवसायलाई अझै विस्तार गरेर लैजाने योजना गरेको उनले सुनाइन् ।
पारिवारिक साथ र सहयोग पाए अझ यो व्यापारलाई विस्तार गर्ने सोच उनको छ । उनले भनिन्, पारिवारिक खर्च र बालबच्चाको विद्यालय खर्च चलाउन यो व्यापारको थालनी गरेकी हुँ । मैले गर्दै आइरहेको व्यवसायबाट श्रीमान्लाई पारिवारिक खर्चको बोझ कम होस् भन्ने पनि मेरो उद्देश्य हो ।
गाउँघरमा बेरोजगार रहेका दिदीबहिनीहरूलाई कुनै न कुनै सीप सिक्न उनी सुझाव दिन्छिन् । गाउँतिर रहेका बेरोजगार दिदीबहिनीहरू केही सीप सिक्नुस्, आफूले सिकेको सीपको सदुपयोग गर्नुस्, उनले भनिन्, सीप सिकेर आत्मनिर्भर बन्नुपर्दछ, घरमा बसेर घाँसदाउरा काटेरै मात्र बस्ने होइन । त्यो त हाम्रो दैनिकी हो ।
महिला दिदीबहिनीलाई घरमा चुलोचौकामा मात्रै सीमित नरहन उनले आग्रह गरिन् । महिला भएर घरमा हेपिएर चेपिएर बस्नु हुँदैन, महिलाहरूले पनि पुरुष सरह आम्दानी हुने कार्य गर्नुपर्छ , उनले भनिन्, श्रीमान्कै मुख ताकेर पनि हुँदैन । आम्दानीको बाटो हामी आफैले रोज्नु पर्छ । तरकारी खेती गरेर होस् या बंगुर पालेर आफ्नो जीविकोपार्जन आफैं गर्न सक्नुपर्छ भन्ने मान्यता उनी राख्छिन् ।
कान्ति जोशीले ब्युटी पार्लर व्यवसाय गरी आयआर्जन गरी आत्मनिर्भर बने जस्तै अन्य युवाहरूले पनि उनको कामलाई आत्मसात् गर्दै अगाडि बढ्ने हो भने बेरोजगारको संख्या कम हुँदै जाने धेरै सम्भावना छ । उनले भनिन्, बेरोजगार भई विदेश जानुपर्ने बाध्यता पनि कम रहन्छ । त्यसैले जागिरको पछि लाग्नुभन्दा पनि आफूसँग भएको सीपलाई सही सदुपयोग गर्न सके जागिरमा महिनामा कमाउने पैसा हप्ता दिनमा कमाउन सकिने निश्चित छ । -रासस
प्रकाशित मिति: बिहीबार, जेठ ९, २०७६