पाेखरा : पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायको आयोजनामा बिहीबार पोखरामा विपद्मा स्वास्थ्य इन्जिनियरिङ विषयक तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
सम्मेलनको उद्घाटन गर्दै पोखरा महानगरका मेयर मानबहादुर जिसीले विश्वविद्यालय ज्ञान र तथ्यहरू उत्पादनको थलो भएको बताए । विश्वविद्यालयबाट प्राप्त ज्ञानलाई नीतिगत रूपमा कार्यान्वयनमा राजनीतिक तथा विकास कार्यकर्ताहरू लाग्नुपर्ने बताए ।
पोखरा र आसपासका क्षेत्र पनि विपद्को उच्च जोखिममा पर्ने भएकाले मेयर जिसीले सम्मेलनका विभिन्न निष्कर्षहरूलाई कार्यान्वयन गर्नका लागि भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
नेपालमा स्वास्थ्य इन्जिनियरिङको अध्ययन अध्यापन भर्खर सुरु हुन थालेकामा यस्ता सम्मेलनहरूले यो विषयतर्फ विद्यार्थीहरूको आकर्षण बढाउने पोखरा विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डिन बुद्धिराज जोशीले बताए ।
पोखरा विश्वविद्यालयले यही शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा जनस्वास्थ्य तथा विपद् इन्जिनियरिङको अध्ययन अध्यापन केन्द्रीय आंगिक कलेजमा सुरु गराएको पनि उनले थपे ।
यो विषयको अध्ययन अध्यापन नेपालमा मात्र नभई दक्षिणपूर्वी एसियामा नै पहिलो पटक पोखरा विश्वविद्यालयले सुरु गरिरहेको छ ।
सम्मेलनको उद्घाटन सत्रलाई विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर भीमप्रसाद सुवेदी, इन्जिनियरिङ अध्ययन संस्थानका पूर्वडिन प्राध्यापक डाक्टर भरतराज पहारी, संयुक्त राष्ट्र संघका लागि विपद् जोखिम न्यूनीकरण विज्ञ ग्यारे डे ला पोमेराइ र ओभिएडो विश्वविद्यालय, स्पेनका प्राध्यापक डाक्टर पेड्रो इग्नासियो गोन्जालेजले पनि आफ्नो धारणा राखेका थिए ।
सम्मेलनमा सहभागी हुनका लागि नेपालबाहेक स्पेन, साइप्रस, बेलायत, पोर्चुगल, उज्वेकिस्तान, इटाली, थाइल्यान्ड, भारत लगायत १० देशका तीन सयभन्दा बढीले सहभागिता जनाउने सम्मेलनका संयोजक प्राध्यापक डाक्टर विनयकुमार मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार नेपालका विभिन्न विश्वविद्यालय तथा संघसंस्थाहरूबाट जनस्वास्थ्य, विपद् व्यवस्थापन तथा इन्जिनियरिङ क्षेत्रका विज्ञ, पेसाकर्मी र विद्यार्थीहरू सम्मेलनमा सहभागिता जनाउन पोखरा आइसकेका छन् ।
करिब १५ लाख रुपैयाँको लागतमा सम्पन्न हुने सम्मेलनका लागि पोखरा विश्वविद्यालयसँग विश्वविद्यालय अनुदान आयोग, युरोपियन युनियनको इरासमस प्लस परियोजना, स्फेरा परियोजना तथा एनआईसी एसिया बैंकले सहकार्य गरिरहेका छन् ।
सम्मेलनका तीन दिनहरूमा विपद् व्यवस्थापन, वातावरण, विपद्मा जलसम्पदाको संरक्षण, जलवायु परिवर्तन, स्मार्ट शहर तथा भवन निर्माण, विपद् व्यवस्थापनमा सूचना प्रविधिको प्रयोग, विपद्मा स्वास्थ्य जोखिम र मनोविज्ञान जस्ता विभिन्न मुद्दाहरूमा केन्द्रित रहेर ४५ वटा कार्यपत्रहरूमाथि विभिन्न दस वटा समानान्तर सत्रहरूमा छलफल हुने आयोजक समितिका सदस्य तथा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ एण्ड अलाइड साइन्सेसका निर्देशक डाक्टर डमरु प्रसाद पनेरुले बताए ।
सम्मेलनका निष्कर्षहरूले स्थानीय, प्रादेशिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा समेत नीति निर्माण तहमा महत्वपूर्ण भूमिका खेल्ने उनको बुझाइ छ । उनले थपे, ‘नेपालमा भर्खर सुरु भएको यो नयाँ विषयको संस्थागत विकासका लागि अन्तर्राष्ट्रियस्तरको सहकार्य, सहयोग तथा सञ्चारमा पनि यस्ता सम्मेलनहरूको महत्वपूर्ण भूमिका रहने छ ।’
प्रकाशित मिति: बिहीबार, वैशाख १९, २०७६