विराटनगर : उद्योगी दिवाकार गोल्छाको मंगलबार राति भारतमा निधन भएको छ । चेन्नईमा उपचारका क्रममा गोल्छाको निधन भएको उनका भाइ राजकुमार गोल्छाले आजको न्युृजलाई बताए ।
किड्नी ट्रान्सप्लान्ट गरेको दुई सातामै उनी अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए । मुटुले काम नगरेपछि उनको निधन भएको बताइएको छ ।
नेपालको प्रतिष्ठित औद्योगिक घराना गोल्छा परिवारका सदस्य दिवाकार नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुनुका साथै नेपाली कांग्रेसबाट पहिलो संविधानसभा निर्वाचनमा समानुपातिकतर्फबाट सभासद् बनेका थिए । उनको अग्रसरतामा सुनसरीको अमहिबेल्हामा इस्टर्न सुगर मिल स्थापना भई सञ्चालित छ । उनको पहलमा गोल्छा अर्गनाइजेसनले २४ वटा उद्योग स्थापना गरी सञ्चालन गर्दै आएको छ ।
६७ वर्षीय गोल्छा काठमाडौं केन्द्रित भई ब्यापारव्यवसाय गर्दै आएका थिए । उनका दुई छोरा छन् । गोल्छाको मंगलबार राति करिब ११ः३० बजे निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
उनको पार्थिव शरीर बुधबार काठमाडौं ल्याउने र बिहीबारसम्ममा अन्त्येष्टि गरिने उनका भाइ राजकुमारले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, चैत २७, २०७५