भक्तपुर : मध्यपुरथिमि नगरपालिका–५ सङ्गम कोलोनी राधे राधेस्थित सङ्गमेश्वर महादेव मन्दिर तथा सत्तल निर्माणका लागि शुक्रबार श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको छ ।
महायज्ञको उद्घाटन गर्दै प्रतिनिधिसभाका सांसद् एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले आध्यात्मिक बाटोले विकास निर्माण र व्यक्तिलाई सचित्रवान बनाउन यस्ता कार्यक्रमले टेवा पुग्ने बताए । उनले पानी पर्दा यसक्षेत्रका बासिन्दा डराउनुपर्ने अवस्थाको अब अन्त्य हुने उल्लेख गर्दै यो क्षेत्रलाई डुबानमुक्त बनाउन यस वर्षबाट नै हनुमन्ते करिडोर निर्माण सुरु गरिएको बताए ।
बस्नेतले महायज्ञमा १० हजार रुपैयाँ सहयोग गर्ने र मन्दिर निर्माणका समयमा कम्तीमा पाँच लाखसम्म सहयोग जुटाउने प्रतिबद्धता जनाए । नगरपालिकाका उपप्रमुख अञ्जनादेवी मधिकर्मी, पूर्वनगर प्रमुख मदनकृष्ण श्रेष्ठ लगायतले दाताको सहयोग आवश्यक रहेको बताए ।
एक करोड २० लाख रुपैयाँको लागतमा प्यागोडा शैलीमा नयाँ मन्दिर निर्माण गरिने र निर्माण भइरहेको सत्तललाई पूर्णता दिन आर्थिक सहयोग सङ्कलन गर्ने उद्देश्यले सुरु भएको महायज्ञ यही चैत ३० गतेसम्म सञ्चालन हुने मन्दिर संरक्षण तथा विकास संस्थाका अध्यक्ष मोहनवरसिंह प्रधानले जानकारी दिए ।
आयोजक संस्थाका व्यबस्थापन समिति सचिवालयका सचिव सुनिल ढकालले महायज्ञमा स्थानीय बासिन्दा एवं बिभिन्न दाताहरुबाट रकम संकलन गरिने जानकारी दिनुभयो । महायज्ञमा प्रह्लादराज न्यौपानेबाट कथा वाचन हुने जानकारी दिदै उहाँले सयौको संख्यामा आज कलश यात्रा समेत भएको बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५