बारा : बारा र पर्सामा गत आइतबार आएको भीषण हावाहुरीबाट प्रभावित कतिपयले राहतसम्म पाउन नसकेको गुनासो गरेका छन् । सरकारी निकायको समन्वयको अभावमा पीडितहरुसम्म अझै राहत पुग्न नसकेको हो ।
बाराको फेटा गाउँपालिकाको भलुइ, भरबरिया, पुरैनिया र गम्हरीयामामात्र राहतकेन्द्रित हुन थालेपछि प्रभावित अन्य क्षेत्रका बासिन्दाले राहतको माग गरेका छन् । प्रदेश नम्बर–२ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले राहत नपुगेको प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । उनले वास्तविक पीडित अब राहतबाट नछुट्ने भन्दै आफूले सम्बन्धित निकायलाई निर्देशन दिएको बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने राहत सामग्री नपुगेका ठाउँहरुमा पुग्नेक्रम सुरु गरिएको बताए । सडकबाट नजिकै रहेको पुरैनिया र गम्हरीयामामात्र राहत साम्रगी र पालहरु पुग्दा भलुइ, खुटुबा, तेलकुबा, रामपुर्वा, पशुरामपुरलगायतका गाउँका बासिन्दा अझै चाउचाउ र बिस्कुटकै भरमा छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत २२, २०७५