काठमाडौं : जिल्ला, उच्च र सर्वोच्च अदालतमा बुधबार मुद्दाका कुनै पनि पेशी तोकिएका छैनन् । आजदेखि काठमाडौंमा हुने सम्मेलनमा भाग लिन न्यायाधीशहरु काठमाडौं आइपुगेकाले पेशी नतोकिएको हो । आजबाट शुरु भएको सम्मेलन अवधि अर्थात शुक्रबारसम्म तहका अदालतमा कुनैपनि पेशी तोकिने छैनन् ।
‘न्यायपालिकाको स्वतन्त्रता, न्याय सुशासन हाम्रो प्रतिबद्धता’ भन्ने मूलनाराका साथ आज बुधबारदेखि शुक्रबारसम्म तीनदिने सम्मेलन हुँदैछ ।
सम्मेलनको आज दिउसो २ बजे राष्ट्रपति विद्यादेवी भण्डारीले प्रज्ञा भवन कमलादीमा उद्घाटन गर्ने कार्यक्रम छ । न्यायपालिकाप्रति घट्दो जनआस्था बढाउन, न्यायलय सुधारका योजना, नीति कार्यक्रमका विषयमा छलफल हुने सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले बताएका छन् ।
सम्मेलनमा चारवटा विषयमा छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत हुँदैछन् । ‘नेपालको संविधान कार्यान्वयनमा न्यायपालिकाको भूमिका, अपेक्षा र चुनौतीहरू’, ‘मुलुकी संहिताहरूको कार्यान्वयनमा अदालतको अपेक्षित भूमिका,’ ‘न्यायपालिकाप्रतिको जनआस्था र न्यायाधीशको आचारसंहिताको कार्यान्वयन,’ ‘न्यायपालिकाको चौथो पञ्चवर्षीय योजना निर्माणको सन्दर्भ’ विषयक कार्यपत्र प्रस्तुत गरी छलफल हुने बताइएको छ ।
सम्मेलनमा सर्वोच्च, उच्च, जिल्ला अदालतका मुख्य न्यायाधीश, न्यायाधीशको उपस्थिति रहने बताइएको छ । नयाँ संविधानको कार्यान्वयन, संविधान अन्तर्गत बनेका मुलुकी फौजदारी, देवानी संहितादेखि कार्यान्वयनमा आएका कठिनाइ, प्रभावकारी कार्यान्वयन कसरी गर्ने भन्ने विषयमासमेत छलफल हुने प्रवक्ता पोखरेलले बताए ।
प्रधानन्यायाधीशमा नियुक्त हुँदादेखि नै चोलेन्द्रशमशेर जबराले न्यायपालिकामा जनआस्था बढाउने काम गर्ने बताएका थिए । उच्च अदालत विराटनगरदेखि केही जिल्लाका ११ जना न्यायाधीशलाई न्यायपरिषद्मा काजमा तानेका प्रधानन्यायाधीशलाई न्यायपालिका सुधारको शुरुवातको रुपमा हेरिएको थियो । तर, मंगलबार गरिएको सर्वोच्च र उच्चमा गरी २२ जना न्यायाधीश नियुक्ति सिफारिसका विषयलाई लिएर बरिष्ठ अधिवक्ताहरुले टिप्पणी शुरु गरेका छन् । न्यायाधीश सम्मेलनमा न्यायाधीशका आचार संहिताका विषयमासमेत छलफल हुँदैछ । देशभरका अदालतमा ३ सय ९३ जना न्यायाधीश कार्यरत छन् ।
प्रकाशित मिति: बुधबार, चैत २०, २०७५