कपिलवस्तु : नयाँ मुलुकी संहिता जारी भएसँगै कपिलवस्तु जिल्ला अदालतमा मुद्दा दर्ताको चाप बढेको छ । गत आर्थिक वर्षको जिम्मेवारी सरेका नौ सय १९ मुद्दा र चालू आवको आठ महिनामा दर्ता भएका गरी एक हजार तीन सय २६ मुद्दा छिन्न बाँकी भएको अदालतका नायब सुब्बा हरि पन्थीले जानकारी दिए ।
चालु आवको आठ महिनामा जिल्ला अदालतमा एक हजार तीन सय ८२ मुद्दा दर्ता भएको उनले बताए । अहिलेसम्म जिम्मेवारी सरेका र यो आवमा दर्ता भएका दुई हजार तीन सय एक मुद्दामा नौ सय ७५ मुद्दाको मात्र छिनोफानो भएको छ । अदालतले यस वर्ष नौ सय २० मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा अहिलेसम्म लक्ष्यको केही प्रतिशत बढी मुद्दा फछ्र्योट गरेको छ ।
दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी अंश विभाजन मुद्दा छन् । यस्तै जिल्ला अदालतमा सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने क्रम बढी नै छ । अदालतमा सम्बन्धविच्छेदका मुद्दा आठ सय ७८ वटा छन् । यी मुद्दामध्ये अहिलेसम्म तीन सय ३६ मुद्दाको फैसाला भएको छ भने पाँच सय ७६ मुद्दा फैसालाको प्रक्रियामा छन् ।
यसैबीच यसै वर्षको भदौबाट मुलुकी देवानी संहिता कार्यान्वयनमा आएपछि पुरुषसमेत सम्बन्धविच्छेदका लागि अदालत धाउन थालेका छन् । गत भदौ १ गतेदेखि ऐन कार्यान्वयनमा आएपछि सम्बन्धविच्छेद गर्न अदालतमा निवेदन दिने पुरुषको सङ्ख्या बढिरहेको हो । अदालतमा यस वर्षको चालू आवको हालसम्म गरी १५ पुरुषले सम्बन्धविच्छेदका मुद्दा दर्ता गरेका छन् ।
नयाँ संहिताअनुसार पुरुषबाट दर्ता हुन आएका सम्बन्धविच्छेदका मुद्दा ७८ वटा छन् । पुरुषबाट १५ मुद्दा दर्ता भएका हुन् भने बाँकी महिलाबाट नै सम्बन्धविच्छेदका घटना दर्ता भएका हुन् । तीमध्ये अहिलेसम्म ४२ मुद्दाको फैसला भइसकेको छ ।
े
पुरानो मुलकी ऐनलाई विस्थापित गर्दै आएको नयाँ कानुनले पुरुषलाई महिलासरह सम्बन्धविच्छेदको अधिकार दिएको नासु पन्थीले बताए । उनले भने, ‘संहिताले महिला र पुरुषलाई बराबरी अधिकार दिएपछि भने सम्बन्धविच्छेद गर्ने पुरुषका समेत निवेदन आइरहेका छन् ।’ केही घटनामा मेरो जीवन मेरो अधिकार भन्दै स्वतन्त्र भएर बाँच्न चाहने पुरुष तथा श्रीमान्ले खान लाउन नदिने, हेरचाह नगर्ने, पारिवारिक बहिष्कारका कारण महिलाले पनि सम्बन्धविच्छेद गर्ने गरेको उनको भनाइ थियो । –रासस
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५