साँखु : भूकम्पले ध्वस्त भएको साँखुका दुई मन्दिर पुरानै शैलीमा पुनःनिर्माण भएको छ । लिच्छवीकालीन मन्दिरको रूपमा परिचित साँखुको साल्खा टोलमा रहेको कृष्ण मन्दिर र नारायण मन्दिर पुरानै शैलीमा पुनःनिर्माण भएको हो ।
पुनःनिर्माणपछि मन्दिर र परिसर नयाँजस्तै बनेकामा स्थानीयवासी खुसी भएका छन् । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण साँखुमा धेरै सम्पदा रहेका छन् । निर्माण हुन बाँकी अन्य सम्पदाको पनि चाँडै पुनःनिर्माण गर्नुपर्ने स्थानीयवासीको माग छ । पुरातत्व विभागले पुनःनिर्माण सम्पन्न गरेको दुई मन्दिरमा मन्दिरभित्र पानी चुहिएको गुनासो आएको थियो । गुप्ती गणेश कन्स्ट्रक्सन कम्पनीले पुनःनिर्माणमा लापरवाही गरेको भन्दै विभागले दोहोर्याएर निर्माण गर्न लगाएको थियो ।
मन्दिरको पुनःनिर्माणपछि भक्तजनलाई नियमित पूजापाठमा सजिलो भएको स्थानीय पत्रकार पवन श्रेष्ठले जनकारी दिए । श्रेष्ठका अनुसार, गुप्ती गणेश कन्स्ट्रक्सनले सुरुमा धेरैजसो सामग्री पुरानै प्रयोग गरेर मन्दिर पुनःनिर्माण गरेकाले गुणस्तरीय नभएकोे भन्दै स्थानीयवासीले विरोध गरेका थिए ।
पछि पुरातत्व विभागले ध्यानार्कषण गराउँदै गुणस्तरका साथ निर्माणमा लाग्न दवाब दिएपछि निर्माण कम्पनीले पुनःनिर्माण गरेको थियो । भूकम्पले भत्किएका ७५३ सम्पदा पुनःनिर्माण हुनुपर्नेमा अधिकांंश सम्पदा निर्माणको चरणमा रहेको पुरातत्व विभागले जनाएको छ । -रासस