काठमाडौं : पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज हावाहुरी प्रभावित क्षेत्रको अवलोकनमा जाने भएका छन् ।
अध्यक्ष प्रचण्ड आज ११ बजे गत आइतबार रातिको हावाहुरीले तहसनहस बनाएको बारा र पर्साको अवस्था बुझ्न त्यसतर्फ जान लागेको उनको निजी सचिवालयले जानकारी दिएको छ । प्रचण्डले हावाहुरी पीडितको अवस्थाबारे बारा पुगेर जानकारी लिने छन् । प्रचण्ड हावाहुरी प्रभावित पर्सा पनि जाने कार्यक्रम छ । उनले पीडित परिवारसँग भेटघाट गर्ने र राहत वितरणसमेत गर्ने बताइएएको छ
हावाहुरीले क्षति पुर्याएपछि हिजो नै प्रधानमन्त्री तथा नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीले त्यस क्षेत्रको भ्रमण गरेर आइसकेका छन् । प्रधानमन्त्रीले त्यस क्षेत्रको अवलोकन गरेर आए लगत्ते साँझ मन्त्रिपरिषद् बैठक बसेर राहत तथा उद्धारमा सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ । घाइतेहरूको उपचार खर्च व्यहोर्ने, प्रकोपस्थलमा महामारी फैलन नदिने र गृह मन्त्रालयले तथ्यांक संकलन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, चैत १९, २०७५